संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयक हतारमा पारित गर्नुहुँदैन : एमाले

काठमाडौं- नेकपा एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई हतारमा पारित गर्न नहुने बताएको छ।
आइतबारको प्रतिनिधि सभा बैठकअघि शनिबार सिंहदरबारमा भएको छलफलपछि एमालेका प्रमुख सचेतक पदम गिरीले सो विधेयक समितिमा आउनुपर्ने र त्यहाँ छलफलपछि प्रक्रियागत ढंगले अगाडि बड्नुपर्ने बताए।
‘विधेयक सदनमा पेस भइसकेपछि छलफलहरु हुन्छन्। संशोधनहरु हुन्छन्। समितिमा गएर व्यापक रुपमा छलफल गरेर यसलाई टुंगोमा पुर्याउनुपर्ने हुन्छ। संसद्बाट हतारमा पारित गरेर जाने कुरा हुनसक्दैन। त्यस्तो हुनु पनि हुँदैन’, उनले भने।
उनले यो विषयमा अन्तर्राष्ट्रिय समुदाय, मानवअधिकार आयोग र मानवअधिकारसँग सम्बन्धित विभिन्न निकायहरुको पनि ध्यानाकर्षण भएको स्मरण गराए।
आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा यो विधेयक पेस गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ। विधेयकमाथि राप्रपा सांसद ज्ञानबहादुर शाही र नेमकिपा सांसद प्रेम सुवालले विरोधको सूचना राख्नेछन्। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
त्यस्तै, कांग्रेस र माओवादी केन्द्रका प्रमुख सचेतकहरु रमेश लेखक र हितराज पाण्डेले प्रतिनिधि सभामा अब विधेयकहरु प्रस्तुत हुने बताए।
भोलिकै बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने नेताहरुको भनाइ छ।