वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएका क्षेत्रमा हुने उपनिर्वाचनमा दल दर्ताका लागि समय समेत तोकेको छ। आगामी वैशाख १० गते तनहुँ–१ र बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ। चितवन–२ का लागि यसअघि नै दल दर्ता भइसकेको छ।
तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न सूचना प्रकाशित गरेको छ। चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका थिए।
उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट बदर भएको थियो। त्यस्तै, बारा २ उपराष्ट्रपति रामसहायप्रसाद यादवले जितेको क्षेत्र हो। उपराष्ट्रपति निर्वाचित भएपछि यादवले सांसद पदबाट पनि राजीनामा दिएका थिए। तनहुँ १ बाट कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनले गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।