सरकारमा सहभागी हुने विषयमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुन पार्टीले सरकारमा सहभागिताका लागि छलफल गर्न कार्यदल गठन गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।
अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसालसहितको तीन सदस्य कार्यदल गठन गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
नेता खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जाने बारेमा छलफल भएको बताए। उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्ने बारेमा पनि छलफल भएको जानकारी दिए।
‘सरकारमा जाने विषयमा निर्णय भएको छ। पार्टी सत्ता पक्षमा बसिसकेको छ। सरकारमा जाने र यसबारे बृहत ढंगले सोच्नुपर्ने भएकाले त्यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेस हमाल र पार्टी महासचिव घनश्याम भुसाल तीन सदस्य कार्यदल गठन गरेको छ। यसले नीति तथा कार्यक्रमा राख्ने बारेमा पनि सोच्नेछ। सरकारमा कसरी अघि बढ्ने भन्ने बारेमा सचिवालयमा प्रस्ताव दिनेछ।’