अनलाइन सञ्चारमाध्यमको संख्या मात्रै बढ्यो, विश्वसनीयता घट्दै गयो : अध्यक्ष बस्नेत

काठमाडौँ- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यमको संख्या मात्र बढेको तर विश्वसनीयता घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
उनले पत्रकारिता बाहेकका पृष्ठभूमि र अध्ययनबाट अनलाइन दर्ताको बाढी देखिएकाले गुणस्तरीयता र विश्वसनीयतामा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए । उनले प्रेस काउन्सिलबाट एक वर्षदेखि विभिन्न पृष्ठभूमिबाट आएका अनलाइन सञ्चालक र सम्पादकलाई नियमित अभिमुखिकरण कक्षा हुँदै आएको र यसलाई निरन्तरता दिने जानकारी दिए ।
शुक्रबारको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले मिडिया जगतका अहिलेका समस्या समाधान गरेर पत्रकारिता क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन सम्बद्ध सबै निकायको प्राथमिकतामा पर्नुपर्ने बताए ।
‘अनलाइनका अहिलेका प्रस्तुति हेर्दा पत्रकारितामा किन लाइसेन्सको व्यवस्था हुनु जरुरी छ भन्ने देखाएको छ’ आचार्यले भने ‘काउन्सिलले कम्तीमा यस्ता अभिमुखिकरण कक्षा सुरु गरेर स्वागयोग्य काम गरेको छ ।’
शुक्रबारको कक्षामा ३४ नयाँ अनलाइनका सञ्चालक र सम्पादक सहभागी थिए । काउन्सिलले एक वर्ष अघिबाट अनलाइन सूचीकरणपूर्व अनिवार्य आचारसंहिता अभिमुखीकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको थियो ।