विष्णु पौडेलको दाबी– सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुग्यो

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।
शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने पनि बताए।
सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो। निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहोर्याए।
‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन। राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन। तपाईंहरूले देखिरहनु भएको छ–जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने। सरकारमा कसरी पुग्ने चिन्ता थियो। अब सरकार कसरी टिकाउने। सरकार कसरी जोगाउने? यो भन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन’, पौडेलले भने, ‘यसकारणले यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन। सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ। आजै बनिसकेको छ। अहिले नै तपाईं देखिरहनु भएको छ–मन्त्रालयको बाँडफाँट गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगिसकेको छ।’
उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोप समेत लगाए। उनले एमाले निकट अनेरास्ववियुलाई स्ववियु निर्वाचनमा विजयी हुनबाट रोक्न सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरेको आरोप समेत लगाए।