एमालेले चाहेमा केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए । ‘अहिले म तिथिमितितिर जान्न । मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो,’ उनले भने, ‘यसरी वा त्यसरी जे होस् कुनैपनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदि एमालेले त्यो आवश्यकता महसुस ग-यो भने केही हप्ताको काम हुन्छ ।’
उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाए । ‘भीम रावलले अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीका निर्णयको खिलाफमा उभिनुभएको छ,’ उनले अगाडि भने, ‘पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।’
उपाध्यक्ष पौडेलले आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको बताए । वर्तमान संसद्ले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको उनको जिकिर छ ।