प्रधानमन्त्री ओली–प्रचण्डबीच सोमबार पनि जुट्न सकेन सहमति, मन्त्रिपरिषद पुनर्गठन अझै अन्योल

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच सोमबार भएको छलफल निष्कर्षविहीन भएको छ ।
मन्त्रिपरिषद पुनर्गठनका सन्दर्भमा ओली र प्रचण्डबीच सोमबार बिहान ११ बजदेखि बालुवाटारमा छलफल चलेको थियो । तर, हटाउने र राख्ने मन्त्रीको नाममा सहमति जुट्न नसक्दा सोमबार भएको छलफल निष्कर्षविहीन भएको हो ।
गत बिहीबार, शुक्रबार र आइतबार समेत दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल चलेको थियो । सोमबार पनि सोही विषयमा छलफल चलिरहेको प्रधानमन्त्री मसेत रहेका अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
आइतबार दुवै नेताबीच भएको छलफलमा सहमति जुट्न नसकेपछि सोमबार पुनः छलफल शुरु भएको हो ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनको मोडालिटीमा सहमति हुन सकेको छैन । प्रचण्ड अहिले कायम रहेको मन्त्रिपरिषद सेट (प्रधानमन्त्री बाहेक) सबै मन्त्रीलाई फेर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओली भने केही मन्त्रीलाई मात्रै फेर्ने अडानमा छन् ।
पछिल्लो समय प्रचण्ड ओलीकै लाइनअनुसार केही मन्त्रीलाई फेर्न पनि तयार भएका छन् । तर, दुई नेताबीच फेरिने र कायम रहेन मन्त्रीको नामका विषयमा सहमति जुट्न सकेको छैन ।