नेकपाभित्रको तरङ्ग साम्य हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका चौथो बरियताका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सचिवालयको निर्णय कार्यान्वयनलाई लिएर पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि साम्य तुल्याउन दुई नेताबीच मध्यमार्गी उपायको खोजी भएको बताइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू बिहान उनको निजी निवास खुमलटारमा भेला भएका थिए । बिहान साढे सातबजदेखि सुरु भएको बैठकमा प्रचण्डका अतिरिक्त वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल सहभागी थिए । सुरुमै पुगेका वामदेव गौतम सञ्चो नभएको भन्दै केही बेरमै बाहिरिएको र अन्तिममा ऊर्जामन्त्री वर्षमान पुन पुगेको स्रोतको दाबी छ ।

बिहान साढे नौ बजेसम्म बसेको बैठकमा बुधबारको सचिवालय बैठकको निर्णय तुरुन्तै कार्यान्वयन गर्नुपर्ने र उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री ओली बाधक बन्न नहुने निष्कर्ष निकालिएको थियो ।
नेता नेपाल त्यही सन्देश लिएर बालुवाटार गए पनि उनी सकेसम्म मिलाउन मध्यमार्गी बाटो खोजिरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले निर्णय कार्यान्वयन गर्दिनँ भन्नुभएको छैन

नेता नेपालको सन्देश सुनेपछि ओलीले रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य र आफू निकट केही नेतासँग पनि परामर्श गरेका छन् ।

भेटमा ओलीले घेराबन्दीमा परेको महसुस गर्दै सुझाव मागेका थिए ।

बालुवाटार निकट स्रोतले जनाएअनुसार प्रधानमन्त्री ओली पनि गौतम राष्ट्रियसभामा जानै हुँदैन भन्ने अडानमा छैनन् ।

“ठूला व्यापारी घराना बसेर सरकारविरुद्ध षड्यन्त्र गर्न थालेका छन् । हिजो वामदेव संविधान संशोधन नभई राष्ट्रियसभामा जान्न भन्नुहुन्थ्यो । आज तम्तयार देखिनुभएको छ । कतै अर्थमन्त्री डा. युवराज खतिवडालाई रोक्ने डिजाइनअन्तर्गत त होइन भनेर सशंकित हुनु स्वाभाविकै हो,” स्रोतले बाह्रखरीसँग भन्यो, “तर उहाँले निर्णय कार्यान्वयन गर्दिनँ भनेर भन्नुभएको छैन ।”

यसको संकेत प्रचण्डले पनि दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चितवन पुगेर अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिन सकिने बताइसकेका छन् । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय पनि तत्कालै कार्यान्वयन हुने उनको विश्वास थियो ।

“सर्वसम्मत गरेको निर्णयले उहाँ (प्रधानमन्त्री केपी ओली) ले अवज्ञा गर्नुहुन्न भन्ने मलाई विश्वास छ । उहाँले सिफारिस गर्नुहुन्छ,” उनले सञ्चारकर्मीसँग भने, “अब गर्नुहुन्न भन्ने विषयमा म जानै चाहन्नँ ।”
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button