कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ नेताले देउवालाई बुझाए विरोध पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध उनकै पार्टीका वरिष्ठ नेता, महामन्त्रीसहित केन्द्रीय सदस्यहरुले आफ्नो हस्ताक्षरसहित विरोध पत्र बुझाएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालासहित २७ जना केन्द्रीय सदस्यहरुले सोमबार पार्टी मुख्यालयमा देउवाको कार्यशैलीको विरोध गर्दै आफ्नो हस्ताक्षरसहितको विरोध पत्र बुझाएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको हस्ताक्षर समावेश विरोध पत्र सोमबार पार्टी केन्द्रीय कार्यालयमा बुझाएका हुन् ।
पार्टीको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई हस्ताक्षरसहित विरोध पत्र बुझाइएको हो ।
हस्ताक्षरकर्ताहरुले पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशनलाई स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन् ।
विरोध पत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर छ ।
विरोध पत्रमा हस्ताक्षर गरेका नेताहरुले सभापति देउवाले विभाग गठन गरेकोदेखि भातृ संस्थाका म्याद थप गरेकोप्रति असहमति जनाउँदै खारेजीको माग गरेका छन् ।
यस्तै, असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरुका मागलाई न्यायपूर्ण र विधिसम्मत समाधान गर्नेतर्फ सभापतिले गम्भीरता देखाउनुपर्ने उनीहरुको माग छ । सभापतिले आफूहरुका मागप्रति बेवास्ता गरे संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।