नेपालमा पदयात्रा र पर्वतारोहण खुला, पीसीआर रिपोर्ट अनिवार्य

काठमाडौं । कोरोनाका कारण रोकिएको पदयात्रा र पर्वतारोहण खुल्ने भएको छ । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।
मन्त्रालयले पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । जसमा पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । त्यस्तै नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ ।
अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ ।
कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने भएको छ । त्यस्तै नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने उल्लेख गरिएको छ ।