ओली र प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न बुधबार पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बुधबार भेटवार्ता हुने भनिएको थियो । तर, बुधबार एकाएक भेटवार्ता स्थगित गरिएको हो ।

मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक नियुक्तिका विषयमा बिहीबारदेखि नै ओली र प्रचण्ड दैनिकजसो छलफलमा छन् । मंगलबार भएको छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किएपछि बुधबार पुनः छलफल गर्ने गरी दुई नेताको भेटवार्ता सकिएको थियो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीचकै सहमतिमा बुधबारको भेटवार्ता स्थगित भएको बताए । फेरि पनि आवश्यकताअनुसार दुई नेताबीच भेटवार्ता हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने अध्यक्ष प्रचण्डको आग्रहअनुसार नै बुधबारको भेटवार्ता स्थगित गरिएको जानकारी दिए ।

नेकपामा मन्त्रिपरिषद पुनर्गठनको विषय पेचिलो बन्दै गएको छ । हालै राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएका उपाध्यक्ष वामदेव गौतमलाई समेत मन्त्री बनाइने चर्चा चलेपछि उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

असोज ५ गते दायर भएको रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय यथास्थितिमा राखी मुद्दा किनारा नलागेसम्म थप जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

गौतमविरुद्ध दायर गरिएको रिटमाथि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाई चलिरहेको छ ।

प्रचण्डले वामदेवलाई मन्त्री बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । गौतमको मुद्दा सर्वोच्चमा जारी रहेकाले उनको मुद्दा टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद पुनर्गठनका सम्बन्धमा निर्णय गर्ने पक्षमा प्रचण्ड रहेका उनी निकट नेताहरु बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button