पद्मश्री साधना सम्मान र पुरस्कार रद्द

काठमाडौँ । यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ ।
पुरस्कार वितरण गर्ने खेमलाल–हरिकला प्रतिष्ठानले सोमबार एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो ।
प्रतिष्ठानले असोज ११ गते पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो ।
पुरस्कार घोषणापछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको र सम्मानित र पुरस्कृत दुवै सर्जकले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।
पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुर्याउने उद्धेश्य नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो उद्धेश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउन कदापि थिएन । सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’
यसअघि लेखक सञ्जीव उप्रेतीले यौन उत्पीडनको आरोप लागेका मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा उभिएर पुरस्कार नलिने बताएका थिए । नैतिकताका आधारमा आफूले प्रश्रितसँग मञ्च साझा गरी पुरस्कार नलिने घोषणा उनले गरेका थिए ।
त्यस्तै प्रश्रितले पनि प्रतिष्ठानले आफूलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा आभार व्यक्त गर्दै केही व्यक्ति तथा समूहले आफ्नो चरित्र हत्या गरेकाले पुरस्कार नलिने बताएका थिए । सोमबार उनको हस्ताक्षर भएको प्रेस विज्ञप्ति नै सार्वजनिक भएको थियो । तर पछि उनले त्यो प्रेस विज्ञप्ति आफूले ननिकालेको पनि बताएका थिए ।