बुटवलमा कडा सुरक्षाबीच नेकपा संसदीय दलको बैठक

बुटवल । प्रदेश राजधानी र नामबारे निर्णय गर्नका लागि प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक बसिरहेको छ । प्रदेश बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेपछि सुरू भएको हो ।
बुटवलमा रहेको अस्थायी राजधानीलाई दाङ सार्ने प्रस्तावको विपक्षमा नेकपाका नेताहरु नै उभिएपछि थप संकट चुलिएको छ ।
प्रस्तावमाथि सहमति जुटाउन विहानदेखिनै पहल गरिएको थियो । जसका कारण मुख्यमन्त्री शंकर पोखरेलनै बैठकमा ढिला उपस्थित भएका थिए ।
बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी राख्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार सरकारले प्रदेश सभामा प्रस्ताव पनि पेस गरेको छ।
उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेश सभा बैठक बोलाइएको छ।
प्रस्ताव पारित गर्ने विषयमा भने नेकपाकै सांसदहरू नै विभाजित छन् । असन्तुष्ट नेताहरुले पार्टीको ह्वीपसमेत स्वीकार गर्न नसकिने बताएका हुन् ।