अस्ट्रेलियाका राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट

नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बड Peter Budd ले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गर्नुभएको छ ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत बड (Budd)ले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गर्नुभएको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गर्नुभएको योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले नेपाल र अस्ट्रेलिया दुबै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौती को सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनु पर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले हालै नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले नेपालमा अस्ट्रेलियाले सुरु गरेको सामुदायिक वनको अवधारणा गृह जिल्ला सिन्धुपाल्चोकबाटै सुरु भएको स्मरण गर्दै आफूले सम्बन्धित मन्त्रालयको नेतृत्व गर्दा सो क्षेत्रलाई वन अध्ययन केन्द्रका रुपमा अघि बढाएको स्मरण गर्नुभयो ।

बिदाई भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीन बर्षे नेपाल बसाइ सुखद भएको जानकारी दिंदै स्वदेश फर्केपछि पनि सम्बन्ध बलियो बनाउन लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल र अस्ट्रेलियाबीच सुरु भएको सिधा हवाइ सेवा आगामी दिनमा व्यवसायिक रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । दुई देशबीच सहकार्यको लामो इतिहास रहेको चर्चा गर्दै राजदूत बडले आगामी दिनमा अस्ट्रेलियाबाट उर्जा क्षेत्रमा थप लगानी हुने जानकारी दिनुभयो ।

नेपाल र अस्ट्रेलिया दुबैले जलवायु सम्बन्धि समान संकटको सामना गरिरहेको छ, राजदूत बडले भन्नुभयो, ‘नेपालमा हिमतालको चुनौती छ, हामी आगलागीको सामना गरिरहेका छौं ।’ उहाँले जलवायु परिवर्तन र मानव अधिकारका क्षेत्रमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button