प्रदेश ५ को नामांकन र राजधानी सार्ने प्रस्तावमाथि थप ३ संशोधन दर्ता

बुटवल । प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’ र स्थायी मुकाम (राजधानी) दाङको देउखुरी तोक्ने प्रदेश सरकारको प्रस्तावमाथि थप ३ संशोधन प्रस्ताव दर्ता गरिएको छ ।
नामांकनको सन्दर्भमा १ र स्थायी मुकामको सन्दर्भमा २ प्रस्ताव दर्ता भएका प्रदेश नम्बर ५ को प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गराएकी छन् । कांग्रेसकै अर्की प्रदेश सांसद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रस्ताव दर्ता गराएकी छन् ।
सांसद अर्यालले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीचभागमा राजधानी तोक्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएकी हुन् ।
त्यसअघि सोमबार नामांकन सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फवाट संसदीय दलका नेता सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका प्रदेश सभा सचिवालयले जनाएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले सरकारका तर्फबाट प्रदेश ५ को राजधानी दाङको भालुवाङसहित देउखुरी उपत्यका र नाम लुम्बिनी राख्न प्रस्ताव पेश गरेका थिए ।
उक्त प्रस्तावमाथि सोमबार नै छलफल पनि सकिएको थियो । यद्यपि, मंगलबारको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुले उठाएका प्रश्नको विषयमा जवाफ दिने कार्यसूची समेत छ ।
मंगलबारकै बस्ने बैठकमा राजधानी र नामांकनका सन्दर्भमा सरकारले पेश गरेको प्रस्तावलाई निर्णय पेश गरिने छ ।