प्रदेश ५ को राजधानी सार्ने निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपाका २ हजार बढी कार्यकर्ताले सामूहिक राजीनामा

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था तथा पेशा एवम् व्यवसायिक संघ–संगठनमा आवद्ध गरी २ हजार २ सय ४९ जनाले सामूहिक राजीनामा दिएको मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङसहितको देउखुरी उपत्यकामा सार्ने प्रदेश सरकारको प्रस्तावप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपाका २ हजार बढी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
नेकपाको सक्रिय कार्यकर्ता समेत रहेका रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरासहित रुपन्देहीका व्यवसायी, पेशागत संगठनसँग आवद्ध व्यक्तिहरुले नेकपा परित्यागको घोषणा गरेका हुन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोहोराले रुपन्देहीका जनताको भावनाअनुसार नेकपा नेतृत्वको सरकारले निर्णय गर्न नसकेकाले अब उक्त पार्टीको सदस्य हुनुको औचित्य नभएको बताए ।
नेकपा नेतृत्वले निरंकुश तरिकाले रुपन्देहीबाट राजधानी सार्न निर्देशन दिएको र रुपन्देहीबाट निर्वाचित सांसदलाई आफ्नो मत राख्न समेत नदिइएको बोहोराले आरोप लगाए ।