कोरोना कहरबीच झन्डै ११ हजारलाई श्रम स्वीकृति, ५० भन्दा बढी देशमा जान अनुमति

कोभिड–१९ को महामारीका बीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको छ ।

गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति खुला भएयता १० हजार ७८७ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७६४ जना महिला छन् ।

पुनः श्रम स्वीकृति लिने करिब १० हजार छ सय र नयाँ श्रम स्वीकृति लिने झण्डै दुई सय जना रहेको पनि विभागले जनाएको छ । ५० भन्दा बढी देशमा जान श्रम स्वीकृति लिइएको जनाइएको छ ।

विभागका अनुसार गत असारमा दुई हजार ४९४ जनाले र साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै भदौमा एक हजार ५२५ जनाले र असोज २० गतेसम्म तीन हजार ७८९ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार कार्यालयका प्रमुख विनु बज्राचार्यले वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिने जाने कुल सङ्ख्याको देशगत रूपमा तथ्याङ्क नराखिए पनि सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसिया, कुवेत, जापान जानका लागि रहेको जानकारी दिए ।

उहाँले असोज महिनादेखि पछिल्लो पटक श्रम स्वीकृति लिएनेको तथ्याङ्क देशगत रूपमा राख्ने गरी तयारी गरेको जानकारी दिए ।

विभागले रोजगारदाता कम्पनीले श्रमिक लिने र सम्झौता अनुसारको सेवा सुविधा दिने प्रतिबद्धतापत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार विभागमा इमेल गरेमा श्रम स्वीकृति दिने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button