कोभिड-१९ले शिक्षा क्षेत्रमा पारेको प्रभावबारे सार्कका शिक्षामन्त्रीबीच छलफल

काठमाडौं । कोभिड-१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावबारे सार्कका सदस्य राष्ट्रहरूमा भएका अभ्यास र अनुभव आदन-प्रदान गर्ने उद्धेश्यले आयोजित भर्चुअल बैठक बिहिबार सम्पन्न भएको छ।

नेपाल सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय र सार्क सचिवालयको सहकार्यमा आयोजना गरेको उक्त बैठकमा सार्कका सबै सदस्य राष्ट्रहरू सहभागिता थिए।

बैठकमा सदस्य राष्ट्रहरूले आ-आफ्नो देशमा कोभिड-१९ को संक्रमणले सृजना गरेको शैक्षिक समस्या तथा चुनौतिहरूको बारेमा उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न गरिएका प्रयासहरू आदानप्रदान गरेका थिए

सदस्य राष्ट्रहरूमा भएका राम्रा अभ्यासहरू र आपसी सहकार्यका विषयमा आ-आफ्ना अनुभवहरूको आदान-प्रदान समेत गरिएको थियो।

बैठकमा छलफल भएका विषयवस्तुहरूमा मुलतः दुर्गम क्षेत्रमा सिकाइ सहजीकरण, शैक्षिक संस्था पुनस् सञ्चालन, शैक्षिक सत्रको कार्यान्वयन, शिक्षण सिकाइ सामाग्री विकास, सार्वजनिक परीक्षाको व्यवस्थापन तथा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग जस्ता विषयहरू समेटिएका थिए।

यसका साथै शिक्षा सम्बन्धी दिगो विकासको लक्ष्य र सार्क कार्ययोजना खाकाको कार्यान्वयनको विषयमा पनि छलफल भयो।

सार्क मन्त्रीस्तरीय छलफलमा कोभिड-१९ लगायतका सबै प्रकारका महामारीमा आगामी दिनमा पारस्परिक सहयोग अझ मजवुत गराउने तथा सार्क सदस्य राष्ट्रहरूवाट विकास गरिएका विद्युतीय सामग्रीको प्रयोग र उच्च शिक्षामा फ्याकल्टी विकास जस्ता कार्यहरूमा सहकार्य गर्न सकिने कुरा व्यक्त गरिएको थियो।

बैठकको शुरुमा सार्कका महासचिवले सार्क मुलुकमा कोभिड-१९ को संक्रमणको समग्र अवस्थाको चर्चा गर्दै सार्क राष्ट्रको साझा अपेक्षाको बारेमा चर्चा गरेका थिए।

नेपालको शैक्षिक अवस्था र प्रयासहरूको सन्दर्भमा सचिव गोपीनाथ मैनालीले प्रस्तुत गरेका थिए भने बैठकको अध्यक्षता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए।

मन्त्री पोखरेलले कोभिड-१९ जस्ता महामारीबाट शिक्षा क्षेत्रले व्यहोर्न पर्ने चुनौतीको सामना गर्न यस प्रकारको बैठकले क्षेत्रीय स्तरमा सामूहिक तत्परताको विकास गर्ने कुरामा जोड दिदै सहभागी सबै राष्ट्रहरुलाई धन्यवाद दिएको शिक्षामन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button