दशैँको अग्रिम टिकट बुकिङ खुलाउन व्यवसायीले राखे यस्तो शर्त

यातायात व्यवसायीहरु दशैँको लागि लामो दूरीका यातायात कसरी चलाउने भन्ने आन्तरिक छलफलमा जुटेका छन् । बिहिबार यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्ना सदस्यहरुसँग छलफल गर्दैछ ।

महासंघका महासचिव सरोज सिटौलाका अनुसार दशैँका लागि काठमाडौँबाट बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय गर्नका लागि महासंघले छलफल थालेको हो ।

‘आजको छलफल प्रारम्भिक मात्रै हो, आजै निर्णय हुन सक्ने अवस्था छैन’ महासचिव सिटौलाले भने, ‘अझै एक दुई दिन छलफल गरिसकेपछि मात्रै बुकिङ खुलाउने वा नखुलाउने भन्ने निर्णय हुन्छ ।’

सरकारी निकायकै दुई थरी कुरा

व्यवसायीहरु अग्रिम टिकट बुकिङ खुलाउने मनस्थितीमा रहेका बेला सरकारले चाडपर्वका लागि काठमाडौँबाट बाहिर नजान यात्रुहरुलाई अनुरोध गरेपछि उनीहरु अन्यौलमा परेका हुन् । यातायात व्यवस्था विभागले जतिसक्दो चाँडो अग्रिम टिकट बुकिङ सुरु गर्न यातायात व्यवसायीलाई अनुरोध गरिरहेको र स्वास्थ्य मन्त्रालयले चाड मनाउनकै लागि काठमाडौँबाट बाहिर नजान यात्रुहरुलाई आग्रह गरिरहेकाले आफूहरु थप अन्यौलमा परेको महासचिव सिटौलाको भनाई छ ।

‘यातायात व्यवस्था विभाग छिटो बुकिङ खोल्नुपरो भन्छ, स्वास्थ्य मन्त्रालय सर्वसाधारणलाई गाउँ नफर्किनु भनिरहन्छ’ उनले भने, ‘सरकारी निकायबीच नै दुई थरी कुरा आउँदा हामी अन्यौलमा परेका छौँ ।’

काठमाडौँबाट पूर्वका जिल्लाहरुमा चल्ने केही सवारी साधनका टिकट बुकिङ काउण्टरले अग्रिम बुकिङ लिन थालिसकेको बताईएपनि व्यवसायीका संघ संगठनले बुकिङ खुलाउने औपचारिक निर्णय भने गरिसकेका छैनन् ।

सरकारको ‘इच्छा’ बिपरित ५ लाखले काठमाडौं छाड्दै, ट्राफिक भन्छन्, ‘जबरजस्ती रोक्न सकिन्न’
‘लकडाउन नगर्ने लिखित ग्यारेन्टी चाहिन्छ’

यातायात व्यवस्था विभागले मंगलबारदेखि नै अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेपनि व्यवसायीले त्यो प्रस्ताव अस्वीकार गरेका छन् । काठमाडौँ उपत्यका आउने र जाने बसहरु रित्तै गुडाउनु परेको भन्दै व्यवसायीले अब लकडाउन नहुने ग्यारेन्टी नभएसम्म बुकिङ खुलाउन नसकिने बताएका छन् ।

‘काठमाडौंबाट बाहिर जाने बसले यात्रु पाउन सकेका छैनन्, व्यवसायीहरुलाई फेरि लकडाउन हुने हो की भन्ने डर छ’ महासचिव सिटौला भन्छन्, ‘हामीले बुकिङ खुलाउँला, अनि सरकारले लकडाउन गरिदिएला । यदि त्यस्तो भयो भने हाम्रो जिम्मा कसले लिन्छ ?’

उनले सरकारले लकडाउन हुँदैन भनेर लिखित ग्यारेन्टी नलिएसम्म अग्रिम टिकट बुकिङ खुलाउन नसकिने पनि बताए । यदि यस्तो ग्यारेन्टी लिन नसक्ने भए ‘अग्रिम टिकट बुकिङ खुलेपछि लकडाउन भए सो को जिम्मेवारी सरकारले लिनेछ’ भनेर व्यवसायी र मजदूरसँग लिखित कागज गर्नुपर्ने व्यवसायीहरुको माग छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने यसवर्ष काठमाडौँबाट बाहिरिने यात्रु निकै थोरै मात्रै हुने भएकाले ढिलो बुकिङ खुलाउँदा पनि हुने भएकाले सोही अनुसार तयारी भईरहेको बताएका छन् ।

गत वर्षहरुमा दशैँमा २० लाख मानिसहरु काठमाडौँबाट बाहिरिने गरेकोमा यसवर्ष ५ लाख मात्रै बाहिरिन सक्ने विभाग र ट्राफिक प्रहरीको अनुमान छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button