कोरोना महामारी र सार्थक उपचारः एक ख्रीष्टियन दृष्टिकोण

डा. बि. पी. खनाल / लेखक तथा सामाजिक अभियन्ता
चीनको वुहान प्रान्तबाट फैलिएको कोभिद–१९ नामक नयाँ माहामारीले हिजोआज जसरी विश्व जनमानसलाई अत्यन्तै तनावग्रस्त तुल्याउँदैछ, तपाईंजस्तै मेरो पनि चासो निकै बढेकोछ । जीवनका लागि समय सधैँ एकनास हुँदैन । कहिलेकाहिँ परिस्थिति अत्यत्नै कठीन र भयावह पनि हुन सक्छ । कोरोना भाइरसलेसम्पूर्ण विश्व मानव समुदायलाई अहिले जसरी आतंकित बनाएको छ, यो अवस्थामा हामी खूबै आत्तिएर पनि जोखिम कम हुँदैन र जोसुकैलाई जेसुकै होस् भनी अरूको बेवास्ता गरेर पनि यो टर्दैन । तथापि कोरोनाजस्तै महामारी पहिले पनि मानव समाजले सामना नगरेको भने होइन । यस्ता अनेकौं महामारी मान्छेले खेपिसकेका छन् । कुनैबेला ठेउला, दादुरा, क्षयरोग, क्यान्सर र आउँ तथा झाडापखालाले पनि हामीलाई बेस्सरी चुनौती दिएकै हुन् । एचआइभी एड्स्, सार्स, इबोलालगायत रोगव्याधहरू सरुवा महामारीको रूपमा हामीसामु खडा भएकै हुन् । बिस्तारै ती सबै आधुनिक औषधोविज्ञानको क्षेत्रमा गरिएका खोजअनुसन्धान र उपलब्धीको रूपमा आर्जन गरिएका खोप वा उपचार पद्दतिद्वारा निस्प्रभावी बन्दै गएका छन्। अनेकौं रोगहरूलाई परास्त गर्नै लागेको बेला, अहिले यो नयाँ भाइरसले हामीलाई पुनः एकपल्ट बडो गम्भीर अवस्थामा पु-याएको छ ।

प्रायजसो सबैले गर्दै आएका नियमित क्रियाकलापलाई यही चिन्ताले विस्थापित गरिसकेको अवस्था छ । विश्वका अधिकांश मुलुकका सरकारहरू अहिले निकै अनिश्चित बनेकाछन्, धेरैले संकटकाल घोषणा गरी यथासक्य उपायले जनस्वास्थ्यको ग्यारेण्टीका निम्ति प्रयत्न गरिरहेका छन् । खेलकूद तथा मनोरञ्जनस्थलहरू सुनसान बन्न थालेका छन्, पर्यटन क्षेत्र र सम्बद्ध व्यवसायहरू अहिल्यै धरासायी अवस्थामा पुगिसकेका छन् । कालाबजारिया प्रवृत्तिले कालो अनुहार देखाउन थालेको छ, कृतिम अभाव सिर्जना गरेर बजार भाउ बढाइएको छ । मिडिया अचाक्ली तातेको छ । परिणामस्वरूप सामान्य मानिसहरू भयावह त्रासदीमा घँचेटिएका छन् । परिणाम, सामान्य जनजीवन बढ्ता प्रभावित हुनथाल्यो, आवागमन, जमघट, सभा र भोजभतेरसँगै धार्मिक क्रियाकलापमा समेत होशियारी अपनाउनुपर्ने अवस्था आइलागेको छ । नियमितजसो भेटघाट जुट्ने ठाउँ र कार्यक्रमहरू अब के हुने ? खासगरी साप्ताहिक आराधनाका लागि जुट्ने सानाठूला भेलाहरूलाई कसरी व्यवस्थापन गर्ने र संक्रमणको सम्भावना कसरी कम गर्ने भन्ने विषय अहिले चर्चहरूमा पनि खूबै चासो बनेको छ । म वरिपरका मान्छेहरूले कसरी आफू सुरक्षित हुन सकिन्छ भन्ने सोच्न थालिसकेको यस भयावह परिस्थितिमा म पनि नजानिँदोगरी ओछ्यान नछाड्दै पहिले गर्दै आएका सामान्य नियमित कार्यहरूलाई दोस्रो प्राथमिकतामा राखेर यही माहामारीको प्रभाव कहाँ कति पुग्दैछ भन्ने चासोमा समाचार सुन्न–पढ्नतिर लागिसकेको पाउँछु । रेडियो–टेलिभिजनका समाचारबाचकहरू बोल्दैछन्, यही महामारीसँग जोडिएर कति ठाउँमा अकल्पनीय घटनाहरू घट्न थालेका छन् ।
त्रासका मारे मान्छेहरू आत्तिन्छन्, कतिले आफ्नो सामाजिक दायित्व बिर्सिन्छन् र आफू कसरी सुरक्षित रहन सकिएला भन्ने उपाय पहिल्याउन खोज्छन् । क्रमसः असुरक्षित महसुस गर्नेले यसबेला अरूलाई धकेलेर आफूलाई बचाउने उपाय सोच्न सक्छ — त्यो मानिसभित्र सुसुप्त बाँचिरहेको स्वार्थी लालसा हो, जसले मानिसलाई यस्तै विषम अवस्थामा कसैको भलो नसोच्ने बनाउन सक्छ । हामीले गनगन–गुनासो र असन्तुष्टिहरू सुन्न थाल्यौं, कसले कहाँ के गर्नुपर्थ्यो, गरेन । खासगरी राज्यको जिम्मेवार निकायमा हुनेहरूले आफ्नो कर्तव्य निभाएनन् भन्ने जनगुनासो यसघडी बढी प्रचारित हुनेछ । त्यसमाथि पनि स्वास्थ्य केन्द्रहरू, सीमानाका वा बिमानस्थलका अध्यागमन कार्यालय र प्रहरी तथा जनप्रशासनमा काम गर्ने मान्छेहरूले थोरैमात्र हेँलचेक्र्याइँ गरिदिए भने त्यसको नकारात्मक असर सिंगो सरकारमाथि पर्नेछ ।
मृत्युको सन्त्रासले जीवनलाई तीरस्कार गर्नुहुँदैन । तर मानवीय तथा सार्वजनिक सेवाका लागि प्रतिबद्ध मानिसहरूले यस्तो अप्ठ्यारो अवस्था आइलाग्दा आफ्नो जिम्मेवारीबाट पन्छिनखोज्नु आफैंमा गम्भीर कुरो हो । यस्तो बेला प्रत्येक जिम्मेवार व्यक्तिले आफ्नो जिम्मेवारी निर्वाह गर्ने सवालमा आफूलाई बचाएर (होशियारीपूर्वक) अरूको सहायता गर्नमा जोखिम उठाउनैपर्छ । जोखिम मोलेर आपतमा परेकाहरूलाई बचाउनुलाई उसले आफ्नो अहम् कर्तव्य सम्झनुपर्छ । यस्तो परिस्थितिमा परिवारका आमा–बुवा वा अविभावकहरू, विद्यालयका शिक्षकहरू, चर्चका पाष्टर–अगुवाहरू र सामाजिक–राजनीतिक क्षेत्रमा सेवा गर्ने प्रतिबद्धता जनाएका समाजसेवी वा जनप्रतिनिधीहरू, आदिले निभाउनुपर्ने कर्तव्य सबैभन्दा बढी सान्त्वनादायी र अभिप्रेरक हुनुपर्छ ।
भर्खरै देशको पूर्वी नाका काँकरभिट्टाबाट कोरोना भाइरसको आशंकामा दुईजना युक्रेनी पर्यटकलाई भारततिरै फर्काइएको समाचार पनि सुनिएको छ । मलाई बेस्सरी गिज्याउने दृश्य हामीकहाँ पाहुना लाग्न आउँदै गरेका ती दुई बिदेशीहरूका लागि ढोका बन्द गर्ने काम हो । मलाई अझै चिन्तित बनाउने कुरोचाहिँ उता भारततिरको कर्मचारीले पनि त्यसैगरी गैरजिम्मेवारीपूर्वक फर्काइदिएको भए ती बिदेशीहरू कहाँ गए, के गर्दै होलान् भन्ने प्रश्न हो । सीमा नाकामा स्वास्थ्य चेक जाँच गर्न खटिएको स्वास्थ्यकर्मीले सम्भावित रोगीलाई त्यसरी जताबाट आएको हो उतै फर्काउनु हुन्थ्यो कि होइन ? यहाँनेर उसलाई हामीले सम्झाउनुपर्ने तथ्य के हो भने संक्रमणको शंका लाग्नासाथ हेल्थडेस्कमा खटिने व्यक्तिको पहिलो दायित्व सके आफैं उपचारको प्रबन्ध मिलाउने, नसके अस्पतालसम्म पु¥याउन बन्दोबस्त गर्ने हो । यसको गतिलो उदाहरण, केही हप्ताअघि मात्रै, चीनको वुहानबाट उद्धार गरिल्याइएका नेपाली भाइबहिनीहरूलाई भक्तपुरमा छुट्याइएको क्षेत्रवरपरका बासिन्दाहरूमा फैलिएको संत्रासलाई जसरी सहजै व्यवस्थापन गरियो, त्यसैगरी संक्रमणको आशंका गरिएको वा संक्रमित भैसकेको व्यक्तिका लागि सबैले मिलेर उचित प्रबन्ध जुटाउनुको बिकल्प छैन ।
महामारीको त्रासले भयावह रूप लिँदैगर्दा सामाजिक तथा अविभावकीय दायित्वमा रहेका मानिसहरूबाट जस्तो कर्तव्यपालनको अपेक्षा गरिन्छ, त्यत्तिकै मात्रामा सार्वजनिक सेवामा खटिएका मानिसहरूले आफ्नो जिम्मेवारी पालन गरेको हुनुपर्छ । खासगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रशासनमा खटिएका कर्मचारीहरूले जोखिम मोलेरै उद्धार र उपचार गर्ने कामबाट पन्छिनुहुँदैन । त्यस्तो जिम्मेवारीमा रहेको कोही व्यक्ति कर्तव्य पालन गर्नबाट पन्छिनुलाई स्वाभाविक कुरो मान्न कदापि सकिन्न । तर जब मानिसहरू अत्यन्तै भयभित भएर अरूको जीवनप्रति बेवास्ता गर्न थाल्छन्, कर्तव्यसँग जोडिएको यो प्रश्न मानव समुदायसामु साँच्चिकै गम्भीर बनेर खडा हुनेछ ।
प्रेम, परोपकार र बलिदानबाट साँचो मानवीयता पुष्टि हुन्छ । त्यसकारण हरेक मान्छेका लागि एउटा सामान्य आग्रह बोल्छ — उसले आफू बाच्दैगर्दा अरूको लागि पनि सोचोस्, अरूको चाहना, भावना र आवश्यकताको ख्याल राखोस् र परस्पर सहयोगी व्यवहार प्रदर्शन गर्दै सामुहिक जीवन बाँचोस् । यो आग्रहको बेवास्ता हुने समाज अत्यन्तै स्वार्थी, भ्रष्ट र बिध्वंसकारी हुन्छ । मानव जीवनको हार्दिक चाहना आफूसहितको सहज, शान्त र समृद्ध जीवनको उपभोग गर्न पाइयोस् भन्ने हो । त्यसकारण मानव समाजले क्रमिकरूपमा प्रतिपादन गरेका सबैजसो धर्म, सँस्कृति, सिद्धान्त र नियम–कानूनहरूले हरेकलाई परोपकारी एवं लोककल्याणकारी जीवन बाँच्नुपर्ने अभिप्राय प्रष्ट गरेका छन् । त्यही उद्देश्यमा केन्द्रित रहनका लागि मानव समाज आफैं संगठित बन्दै एउटा बलियो, व्यवस्थित र न्यायपूर्ण राज्यको स्थापनासम्म पुगेको हो, जसले लोककल्याणको कामलाई प्रभावकारी बनाउन सार्वजनिक सेवाको जिम्मेवारी निर्वाह गर्ने शर्तमा कर्मचारीहरू नियुक्त गर्दछ ।
सामाजिक दायित्व बोध गरेर आफैं सेवाको जिम्मेवारी लिने सामाजिक अभियन्ता वा अगुवाहरू सो दायित्वका लागि स्वयम्सेवकहरू हुन् । उनीहरू धार्मिक, सामाजिक र राजनीतिक क्षेत्रमार्फत देश र जनताको सेवा गर्ने काममा प्रतिबद्ध हुन्छन् । तथापि उनीहरूबाट प्रदान गरिने सेवा निःशुल्क वा निःशर्तरूपमा हुने हुँदा यस्तो स्वयंसेवालाई बाध्यात्मक तुल्याउन सकिँदैन । त्यसकारण लोककल्याण तथा परोपकारका लागि ज्याला लिएर काम गर्न कर्मचारीहरू नियुक्त गर्ने प्रचलन चलाइएको हो । आम मानिसहरूको हित, लोककल्याण तथा सार्वजनिक सेवाका लागि समर्पित भएर काम गरेबापत यथोचित ज्याला वा पारिश्रामिक पाउने भएकोले यस्तो कर्मचारीको कर्तव्य पालनलाई बढी जवाफदेही बनाइन्छ । त्यसकारण सार्वजनिक सेवाको निम्ति नियुक्त कर्मचारीले जोखिम मोलेर अरूको सेवा र जीवनरक्षाका लागि देखाउनुपर्ने तत्परता उसका लागि पहिलो कर्तव्य बन्छ । उसले स्वीकार गरेको जिम्मेवारीको प्रकृति नै सेवाप्रदायी हुने भएकोले पहिले आफैं बाँच्नुपर्ने प्राथमिकता उसका लागि तोकिएको हुँदैन । त्यसकारण बलियो आत्मबलसहित उसले आपतमा परेका मानिसहरूको सेवा गर्नुपर्दछ ।
अर्कोतर्फ सम्पूर्ण जीवन-जगतमाथि प्रहार गर्ने यस्तै महामारी चल्दा धार्मिक समुदायको भूमिका अलि बढी नै अपेक्षा गरिएको हुन्छ । परमेश्वरमाथि विश्वास गर्ने मानिसको विश्वासको जाँच यस्तै विषम परिस्थितिमा हुनेगर्छ । चर्चका अगुवाले यस्तो संत्राशलाई बाइबलसम्मत ढंले बुझ्नु, बुझाउनु र प्रतिक्रिया जनाउनुपर्छ । १४औं शताब्दिको कुरो, मण्डलीमा सुधारको निम्ति अभियान बढाउँदै गर्दा तत्कालिन युरोपेली देशहरूमा ‘कालोमृत्यु’ नाउँको महामारी फैलियो र समस्त युरोपका झण्डै आधा मानिसहरू मृत्युमा घिसारिए । त्यसबेला जर्मनीमा रहेका मार्टिन लुथरले मण्डलीले के गर्नुपर्छ भनी एउटा खुल्लापत्र लेखेका थिए । उनले दिएको सुझाव अहिले पनि उत्तिकै ग्रहणयोग्य छ । यस्तो अवस्थामा मण्डलीले चनाखो भएर बस्ने, प्रार्थनामा जोड दिने र आवश्यक परे हस्तक्षेपपूर्ण काम पनि गर्नुपर्छ, जस्तोः अहिले चीनको वुहानका चर्चहरूले गरिरहेका छन् । चर्चका अगुवाहरूले त्राशको खबरलाई बेलुनझैँ फुकेर मानिसहरूलाई तर्साउने काम पटक्कै गर्नुहुँदैन । बरू उचित सल्लाह र शिक्षाद्वारा मण्डली तथा समुदायलाई होशियारी गराउने, सुरक्षाका सबै उपाय अपनाउने र कोही संक्रमित भैसकेको भए तिनको सेवामा खटिने काम गम्भीरतापूर्वक गर्नुपर्छ । सोझै स्वर्गसँग सत्य अलौकिक सम्पर्कमा रहने एकमात्र संस्था चर्च हो भनेर सिकाउने अगुवाहरूले नै नियमित प्रार्थना, आराधना र संगति (सेवा) मा जुट्न हतोत्साही तुल्याउने किसिमका सूचना भाइरल बनाउनु कदापि प्रसंशनीय कार्य हुनसक्दैन ।
अहिले सारा विश्व यही कोरोना भाइरससँग युद्ध लडिरहेको छ । हामी पनि प्रत्यक्ष–परोक्ष यस महासंग्राममा सरिक भैसकेका छौं । अहिले यसको विरुद्धमा उठाउन सकिने एउटैमात्र हतियार भनेको सुझबुझ, धैर्रधारण र परोपकारी भावनामात्रै हो । यो महासङ्कटको समयमा हामीले आफूलाई सम्हाल्नुपर्छ र आफूसँगै अरूलाई पनि उचित सरसल्लाह, सहायता र भरथेगगरी जोगाउनुपर्छ । त्यसकारण तत्काल यी उपायहरू सोचौँ र लागू गरौँ:
१) चर्च हुने भवन (कोठा वा हल) को आकारको अनुपातमा खुकुलो उपस्थिति जुटाउने उद्देश्यले दिनकै दुईभन्दा बढी वा दिनदिनै सानो संख्यामा भेला भएर आराधना कायम राख्ने ।
२) सार्वजनिक यातायात (बस, मिनीबस, माइक्रोबस, ट्याम्पु, ट्याक्सीलगायत) प्रयोग गर्ने मानिसहरूलाई त्यस्ता सवारी साधन प्रयोग गर्दा अत्यन्तै होशियार बन्न लगाउने । जस्तैः भीडभाडमा मास्कको प्रयोग गर्ने, हातले मुख, नाक, आँखा नछुने, खोक्दा वा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल साथमा राख्ने र प्रयोग गर्ने । धेरैले छुने वा समाउने रेलिङ वा ढोकाको हेण्डलजस्ता साधन–वस्तुहरू नछुने र छुनैपरे तुरुन्तै साबुनपानीले हात धुने ।
३) दीर्घ रोगीहरू, ६० वर्षभन्दा बढी उमेरका कमजोर बृद्धबृद्धाहरू र रुघाखोकी लागेको थाहा भएका व्यक्तिहरू सबैलाई घरमै बसेर आराम गर्न लगाउने । रुघाखोकी लागेको व्यक्तिलाई घरमै पनि परिवारका अरू सदस्यबाट अलग्गिएर बस्न सल्लाह दिने ।
४) होटेल–रेष्टुरेन्टको खाना सकेसम्म नखाने, खानै परे त्यहाँको सफासुग्घर अवस्था जाँच गर्ने । घरमै पकाएको खाना खानु उत्तम हुन्छ । माछामासु राम्ररी पकाएर खाने, पानी उमालेर पिउने । सागसब्जी र फलफूल पनि राम्ररी पखालेर मात्रै खाने । झोलिलो पदार्थ बढी पिउने ।
५) पशुपंछी वा घरपालुवा जनवारहरूसँगको संसर्गमा परहेज गर्ने । कुकुर, बिराला घरमा छन् भने रुघाखोकी लागेको व्यक्तिबाट तिनीहरूबाट तिनीहरू चाँडै संक्रमित हुने हुदाँ तिनको नजिक नजाने । संक्रमित जनावरबाट मानिसलाई अलग्गिएर बस्ने । जनावरहरू मान्छेबाट र जनावरबाट मान्छेमा हुने संक्रमण झन बढी जोखिमपूर्ण हुन्छ ।
६) चर्चमा वा अन्य समारोहमा चिनजानका मानिसहरूसँग भेट हुँदा वा छुट्टिँदा अंकमाल नगर्ने, हात नमिलाउने, आशीर्वाद पनि नछोइकन लिनेदिने, टाढैबाट मुसुक्क हाँसेर हात जोडेर नमस्कार गर्ने ।
७) चर्च परिसर वा भीडभाड जम्मा हुने ठाउँमा हात धुनको लागि साबुनपानीको व्यवस्था गर्ने, स्यानीटाइजर राख्ने, हात पुछ्न एउटै तौलियाको प्रयोग निषेध गर्ने ।
८) रुघाखोकीको समय लम्बिँदै गएको, निरन्तर सिँगान बग्ने भएको, लगातार ज्वरो आएको, घाँटी सुख्खा र बढी दुख्ने भएको अवस्थामा बियाँलो नगरी चिकित्सककहाँ जँचाउन जाने ।
९) मण्डली भेला हुँदा बाइबल अध्ययन, प्रार्थना र आत्माको अलौकिक शक्ति प्रदर्शन गरिएका आश्चर्यकर्महरूको चर्चा गर्ने, यसो गर्दा सुन्ने व्यक्तिको मनोबल बढ्छ । ख्याल रहोस्, उच्च मनोबल भएको व्यक्तिले यस्ता महामारीको सामना सहजै गर्न सक्छ ।
१०) महामारीको विश्वासयोग्य सूचनातर्फ चासो राख्ने, आफैं अग्रसर भएर हल्ला नफिँजाउने, यसबारे सूचना दिने काम राज्यको हो, सक्दो सरकारलाई सहयोग गर्ने ।
पुनश्चः मण्डली भनव र विश्वासीजनहरूको संख्याको अनुपातमा सकेसम्म सानो समुह जुटाएर साप्ताहिक आराधना सुचारू राख्नु अहिलेको बलियो बिकल्प हो । चर्चको भेला निरन्तर, तारन्तार हप्तैभरि भैरहनु अझै राम्रो कुरा हो । यस्तो विषम परिस्थितिमा अलौकिक ईश्वरीय परम् शक्तिको सामुन्ने धर्मीजनहरू जुट्ने र प्रार्थनामा खडा भएर जोखिमयुक्त सबैका पक्षमा मध्यस्थता गर्नुपर्छ । कुनै पनि बहानामा असल, उचित र लोककल्याणकारी कार्य नरोकियोस् भन्ने तथ्यमा हामी सबै सधैं सचेत र कर्तव्यनिष्ट भैरहन सक्नुपर्छ ।
This is a must read piece about what the Christian perspective should be on CoronaVirus. I would welcome your comments. Please, send words…
Thank you for having time to read.
BP Khanal