सरकारी पक्षले समयको बेवास्ता गर्दा डा. केसीका मागबारे हुने भनिएको वार्ता अनश्चित

काठमाडौं । सरकारी वार्ता टोलीले समय नदिँदा आमरण अनसनमा रहेका डा गोविन्द केसी र सरकारी पक्षबीच शुक्रबार हुने भनिएको वार्ता अनश्चित बनेको छ ।

शुक्रबार बिहानैदेखि पुनः छलफल गर्ने गरी बिहीबार राति सकिएको वार्ता सरकारी वार्ता टोलीले समय नदिँदा अनश्चित बनेको हो ।

डा गोविन्द केसी पक्षधरहरुले बिहीबारको वार्तामा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा ‘वरिष्ठता मिचेर’ नियुक्त भएका डिन डा दिव्या सिंह र डा. दिनेश काफ्लेको बर्खास्तीको माग गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी डा. सिंहको बर्खास्तीको विषय आएपछि सरकारी पक्षले त्यस विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेर मात्रै जवाफ दिने बताएको थियो ।

सरकारी वार्ता टोलीले आन्तरिक गृहकार्य र प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने कारण देखाउँदै शुक्रबारको वार्ताका लागि समय उपलब्ध नगराएको डा केसीको पक्षबाट वार्तामा सहभागी एक ससदस्यले जानकारी दिए ।

डा केसीले आफ्नो १९ औं चरणको आमरण अनसनमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु खारेजीको मागलाई प्रमुखताका साथ उठाएका छन् ।

‘अन्य विषयमा वार्ता लगभग सकारात्मक नै छ । तर, वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउने विषयमा सरकारी पक्षले रुची देखाएको छैन,’ डा केसीका तर्फबाट वार्तामा सहभागी सदस्य भन्छन् ।

बिहीबार दिनभर गरी करिब १० घण्टासम्म दुई पक्षबीच चलेको वार्तामा सहमतिका लागि भनेर पहिलो मस्यौदा समेत तयार भएको जनाइएको छ । तर, मस्यौदाका सन्दर्भमा दुवै पक्षले अन्तिम सहमति भने जनाइसकेका छैनन् ।

‘मोटा–मोटी सहमति बनेको हो । त्यहिअनुसार बनेको मस्यौदामा थप छलफल गर्ने भनेर शुक्रबार वार्तामा बस्ने भनिएको हो,’ डा केसीको तर्फबाट वार्तामा सहभागी सदस्य भन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button