कर्णालीमा तत्काल सरकार ‘नफेरिने’, विवाद समाधानका लागि ओली–प्रचण्डले नै सहजीकरण गर्ने

काठमाडौं । कर्णाली प्रदेशमा राजनीतिक गरिरोधको निकासका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नेतृत्वले ‘सहजीकरण’ गर्ने भएको छ ।
सोमबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफलमा कर्णालीमा उत्पन्न राजनीतिक समस्या समाधानका लागि केन्द्रबाटै सहजीकरण गर्ने सहमति भएको हो ।
छलफलपछि दुवै अध्यक्षले कर्णालीका नेताहरुलाई टेलिफोन गरेर ‘आवश्यक निर्देशन’ समेत दिएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
ओली र प्रचण्ड कर्णालीमा सरकार परिवर्तन गर्न नहुने निष्कर्षमा पुगेको पनि ओलीको सचिवालयका ती सदस्यको भनाइ छ ।
नेकपा कर्णालीका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा राजनीतिक गतिरोध उत्पन्न भएको थियो ।
केही नेताहरुले केन्द्रकै योजनाअनुसार कर्णालीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको आरोप समेत लगाएका थिए ।
कर्णालीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपा अध्यक्ष प्रचण्डले सोमबार बिहान आफ्नो निजी निवास खुमलटारमा पार्टीका नेताहरुसँग समेत छलफल गरेका थिए ।
वरिष्ठ नेता माधव नेपाल, गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा (बादल), प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायत नेताहरु सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
आफ्नो निवासमा भएको छलफलका क्रममा केही व्यक्तिको व्यक्तिगत महत्वाकांक्षाका कारण कर्णालीमा प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए ।
कर्णालीमा जस्तै भएको अभ्यास अन्यत्र भए त्यो दुर्भाग्यपूर्ण हुने पनि प्रचण्डको भनाइ थियो । विहान प्रचण्ड निवासमा भेला भएका नेताहरुले अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने विषयमा पनि छलफल गरेका थिए ।
निजी निवासमा नेताहरुसँग छलफल सकेपछि प्रचण्ड प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।