‘सरकारले ग्यास चाहिनेभन्दा बढी आयात भइरहेको छ, अभाव हुन्न’

काठमाडौँ– बजारमा ग्याँसको अभाव देखिए पनि सरकारले भने मागभन्दा बढी ग्याँसको आपूर्ति भएको हुँदा अभाव नभएको दावी गरेको छ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारको अवस्था सामान्य रहेको र दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताएका हुन्।
उनले नेपालमा सामान्यतया मासिक २९ हजार मेट्रिकटन खाना पकाउने एलपी ग्याँसको चाहिने भएपनि हाल ४५ हजार मेट्रिकटन ग्याँस आयात भएको बताए। उक्त परिमाणको ग्याँसबाट ३० लाख सिलिण्डर भर्न सकिने मन्त्री भट्टको भनाइ छ।
बजारमा नियमित अनुगमन भइरहेको र कुनैपनि कुराको अभाव हुन नदिने भन्दै मन्त्री भट्टले यस विषयमा मिडियाले सर्वसाधारणलाई सुसूचित गर्नुपर्ने बताए।
मन्त्री भट्टले एउटा घरमा १० वटासम्म ग्याँस सिलिण्डर राखिएको पाएको भन्दै त्यसले दुर्घटना निम्त्याउन सक्नेतर्फ सचेत हुन आग्रह गरे। उनले बजारमा तरकारी पर्याप्त रहेको पनि दाबी गरे।