विश्वचर्चित रेस्लर जोन सेनाले गरी इरानी मूलकी युवतीसँग विवाह

डब्लूडब्लूईका च्याम्पियन एवम् विश्वचर्चित रेस्लर जोन सेनाले इरानी मूलकी क्यानेडियन युवती शाए शारियातजादेसँग विवाह गरेका छन् । जोन शाएसँग केही वर्ष अगाडिदेखि प्रेममा थिए ।
गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । विवाह समारोहबारे विस्तृतमा भने केही खुलाइएको छैन । विवाह सम्पन्न भएपछि जोनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।
अभिनेता समेत रहेका ४३ वर्षीय जोन यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए । त्यसपछि जोन ६ वर्षसम्म (सन् २०१८ सम्म) सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए । तर निकी बेलासँग उनको परम्परागत वैवाहिक सम्बन्ध भने रहेन । सेना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।
जोन सेनासँग हालै विवाह गरेकी इरानी मूलकी क्यानेडियन नागरिक शारियातजादेले गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।