कर्णालीको विवाद मिलाउन ओली–प्रचण्डबीच नै जुटेन सहमति, छलफल निष्कर्ष विहीन

काठमाडौं । कर्णालीमा देखिएको विवादको समाधानबारे नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको छलफल विना निष्कर्ष सकिएको छ ।

पार्टी भित्रको आन्तरिक समस्या चर्किने गरी पछिल्लो समय कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि आइतबार अपराह्न ४ बजेदेखि दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल शुरु भएको थियो । तर, कुनै सहमति जुट्न नसकेपछि छलफल विना निष्कर्ष सकिएको हो ।

कर्णालीमा देखिको विवादको सन्दर्भमा दुई अध्यक्षले आइतबार नै समाधानको टुंगो लगाउने र प्रदेशस्तरका नेताहरुलाई एउटै धारणासहितको सुझाव दिने तयारी गरिएको थियो । तर, दुवै अध्यक्षबीचमा कुरा नमिल्दा आइतबारको छलफल निष्कर्षविहीन बन्न पुगेको हो ।

कर्णालीमा नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत आइतबार पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको केन्द्रीय राजनीति समेत तरंगित बनेको थियो ।

पछि २ जना अध्यक्षको ‘हस्तक्षेप’बाट अविश्वास प्रस्ताव प्रकरण रोकिएको थियो । अध्यक्ष ओली र प्रचण्डकै निर्देशनानुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित उनीविरुद्ध अश्विासको प्रस्ताव ल्याउने ओली पक्षका भनिएका यामलाल कँडेलसहित नेताहरु काठमाडौं आएका थिए । काठमाडौं आएका कर्णालीका नेताहरुले बिहीबार र शुक्रबार प्रचण्ड तथा शनिबार ओलीसँग छलफल गरेका थिए ।

प्रचण्डले कर्णालीका दुवै पक्षका नेतालाई छुट्टा छुट्टै रुपमा बोलाएर उनीहरुका कुरा सुनेका थिए भने ओलीले शनिबार सामूहिक रुपमा दुवै पक्षका नेताहरुका कुरा सुनेका थिए ।

कर्णालीको समस्याबारे एक्ला–एक्लै रिपोर्टिङ लिएपछि नेकपाका दुई अध्यक्षहरु आइतबार सामूहिक छलफलमा जुटेका थिए । तर, आइतबारको छलफलमा पनि निष्कर्ष ननिस्किए पछि कर्णाली प्रकरणको टुंगो लाग्न अझै समय लाग्ने देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button