कोरोना रोकथाम, नियन्त्रणका लागि सरकारले बनायो ६ कार्यदल

काठमाडौं । कोरोनासँग प्रभावकारीरूपमा जुध्न सरकारले ६ वटा कार्यदल गठन गरेको छ ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दसौं बैठकले गृहमन्त्री र स्वास्थ्यमन्त्री रहेको बिरामी व्यवस्थापन, पीआरटी (प्यासेन्ट रेस्पोन्स टिम) कार्यदल गठन गरेको छ । त्यसले बिरामीलाई उच्च सतर्कता, सुरक्षा सावधानीसहित उपचारको प्रबन्ध मिलाउने छ । आइसोलेसन कक्षमा, क्वारेन्टाइनमा सुरक्षा सतर्कताका साथ राखिने, उपचारको प्रबन्ध मिलाइने सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
देशभर निजी, सामुदायिक संघ, संस्था, विद्यालय, कलेज र व्यक्तिले समेत उपलब्ध गराएउने भनेको क्वारेन्टाइन स्थल एकद्वारमार्फत लिने निर्णय गरेको छ । संघ (केन्द्र) सरकारले नै त्यसको समन्वय गर्ने निर्णय गरेको छ । त्यसको समन्वय–सहजीकरण संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्नेछन् ।
कोरोनाविरुद्ध प्रभावकारी रूपमा लड्न देशभरका सामुदायिक, निजी सञ्चारमाध्यम प्रयोग गरिने, प्रचार–प्रसार व्यवस्थित गर्ने सरकारको तयारी छ । त्यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्रीले समन्वय गर्ने खतिवडाले जानकारी दिए ।
देशमा उपलब्ध औषधि खरिदका लागि अर्थमन्त्रालयबाट बजेट निष्कासन गर्ने र देशबाहिरबाट आयात गर्नुपर्ने औषधिका लागि परराष्ट्र र अर्थमन्त्रालयले समन्वय गर्ने, सम्बन्धित देशका राजदूतवासमार्फत खरिद प्रक्रिया अघि बढाउने समितिले निर्णय गरेको छ ।
आपूर्ति व्यवस्था सहज बनाउने, दैनिक उपभोग्य बस्तु अभाव हुन नदिन आपूर्ति अनुगमन प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरिएको खतिवडाको भनाइ छ ।
कोरोना रोकथाम, नियन्त्रणका लागि राजनीतिक, सामाजिक समन्वय, संवाद पनि अघि बढाइने भएको छ । त्यसको समन्वय कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले गर्नेछन् ।
समग्र कार्यदलको अनुगमन उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नेछन् ।
“हामीले सबै योजना बनायौं । अब कोरोनाविरुद्ध एक्सनमा जान्छौं,” खतिवडाले बैठकपछि सञ्चारकर्मीसँग भने ।