सांसदहरूले दशैं भत्ता नलिने नेकपाको एजेन्डा अलपत्र, दसैँ खर्च गोजीमा

संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्- दलमा छलफल भइरहेको र निष्कर्ष ननिस्किइसकेको

काठमाडौं । गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकको कार्यसूचीमा सांसद (संघ तथा प्रदेश) का सांसदहरूको भत्ता कटौती गर्ने थियो ।

तर, पार्टी विभाजनको डिलमा पुगेर फर्किएको नेकपा स्थायी कमिटी बैठकले भत्ताबारे छलफल नै गरेन । विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदन पारित गर्दै बैठक टुङ्ग्यायो । बाँकी एजेन्डामाथि छलफल गर्नेतिर स्थायी कमिटी बैठक प्रवृष्ट भएन ।

स्थायी कमिटी बैठकमा छलफल नभएपछि भत्ता कटौतीको प्रस्ताव सचिवालयको पनि एजेन्डा बनेको थियो । पेरिसडाँडास्थित पार्टी जनसङ्गठनको केन्द्रीय कार्यालयमा सुरु भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्त्य भएको सचिवालयको ६८औं बैठकमा पनि भत्ता कटौतीबारे कुनै छलफल भएन । बरु, अर्को बैठकमा छलफल गरौं भनेर विषय सारिएको पार्टीका वरिष्ठ नेता झलनाथ खनाल बताउँछन् ।

सत्तासीन नेकपाले कोरोनाकालभरि बैठकबापतको भत्ता नलिने भनेर छलफल गर्दा नगर्दै संघीय संसदका ३३४ सांसद्हरूको खातामा संसद् सचिवालयले दसैं खर्च पठाइदिएको छ ।

प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसद्‍मा नेकपाका २२० सांसद् छन् । संसद् सचिवालयका अनुसार संघीय संसद् सदस्यको तलब ६५ हजार १ सय ७१ रुपैयाँ छ । यसरी हेर्दा संसद सचिवालयले दसैँ खर्चवापत् सांसदहरूलाई २१ करोड ७ लाख ६७ हजार १ सय १४ रुपैयाँ छुट्टयाएको देखिन्छ ।

प्रत्येक सांसद्हरूलाई एक महिना तलबबापत दसैं खर्च उपलब्ध गराइएको संसद सचिवालयले जानकारी दिइएको छ । कोरोनाका कारण मुलुक आक्रान्त बनेका बेला सांसदहरूले अतिरिक्त भत्ता बुझेको भन्दै आलोचना भएपछि केही सांसदहरूले भत्ता फिर्ता गरेका छन् । कतिपयले समाजसेवामा लगाउने स्वघोषणा गरेका छन् ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार नेकपाका अहिलेसम्म तीनजना मात्रै सांसदहरूले दसैं खर्च तलबमार्फत कट्टा गर्नू भनेर पत्र पठाएका छन् । पत्र पठाउनेमा भीम रावल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, सूर्य पाठक छन् । यस्तै राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले यसअघि नै तलबभत्ता नलिने घोषणा गरिसकेका छन् । त्यसबाहेक जनार्दन शर्माले भेन्टिलेटरमा उपचाररत बिरामीलाई दिएको घोषणा गरेका छन् ।

पार्टीका वरिष्ठ नेता खनालले पनि स्वकीय सचिवलाई भत्ता फिर्ता गर्न भनिसकेको जानकारी दिए । “सचिवालय बैठकले निर्णय गर्न सकेको भए राम्रो हुन्थ्यो । यस्तो बेलामा दसैं खर्च बाँड्नु अन्यन्तै बेठीक कुरा हो,” उनले भने, “यस्तो कोरोना कहरका बेला सांसदहरूले दसैँ खर्च नलिनु उपयुक्त हुन्छ । कमसेकम त्यति मात्रै भए पनि कोभिडविरुद्ध लड्नका निम्ति राज्यलाई सहयोग पुग्छ । यसमा बेलैमा ध्यान दिनुपर्थ्यो ।”

सुवास नेम्वाङले संसदीय दलमा यसबारे छलफल भइरहेको र निष्कर्ष ननिस्किइसकेको बताउँछन् । सांसदहरूलाई विशेष भत्ता दिने प्रचलन अन्यत्र पनि रहेकाले पोहोरदेखि पछ्याउन थालिएको उनको भनाइ छ । तथापि दलमा यसबारे छलफल हुने उनले बताए ।

नेकपाकी सांसद रामकुमारी झाँक्री कुनै पनि सांसदले निवेदन हालेर भत्ता नलिएको बताउँछिन् । “हामीले निवेदन हालेर लिएका होइनौं । सरकारले कानुनअनुसारै दिएको होला,” उनी भन्छिन्, “तलब भत्ता कति आउँछ हामीलाई थाहा पनि हुँदैन । कति के पाइन्छ भनेर वास्तवमै थाहा हुँदैन ।”

नेकपाका अर्का सांसद सेलिब्रिटी नेताहरूले बिगारेको आरोप लगाउँछन् । “सांसदहरूलाई विशेष भत्ता जहाँ पनि दिइन्छ । अन्यत्र पनि चलन छ । तर, हामीकहाँ अलि बढ्तै टिप्पणी हुन्छ,” उनी भन्छन्, “सेलिब्रिटी सांसदहरू, जो जस्केलाबाट पसेर संसद् हुन्छन्, उनीहरू नै तलबभत्ता लिन्न भनेर घोषणा गर्दै हिँड्छन्, उनीहरूले गर्दा नै टिप्पणी गर्ने बाटो बनेको हो ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button