सञ्चार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने सञ्चारमन्त्री गुरुङको प्रतिवद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन् ।नवनियुक्त सञ्चारमन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायत सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सारेका छन् ।
नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आइतबार पुल्चोकस्थित निवासमा भएको सामूहिक भेटमा उनले महासंघलगायत सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै सञ्चार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे ।
‘‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’’ उनले भने, ‘‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु ।’’ त्यस अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ नगर्न ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको उनका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए । उनले प्रेस स्वतन्त्रताको संरक्षण र संरक्षण तथा पत्रकारहरुको पेसागत हितको पक्षमा आफू दृढतापूर्वक लागि पर्ने पनि बताए ।