प्रदेश नम्बर २ सरकारले कोरोना परीक्षणदेखि संक्रमितको उपचारसम्म नि:शुल्क गर्ने

जनकपुरधाम । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन् । मन्त्री साहले जनताको कोरोनाको परीक्षणदेखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताए ।
मन्त्री साहले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पीसीआर मेसिनमार्फत कोरोनाको परीक्षण भइरहेको जानकारी दिए ।
प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भइरहेको मन्त्री साहले जानकारी दिए ।
यसैगरी, कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगंज, गौरमा भइरहेको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिए ।
यसैबीच प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले हरेक जिल्लाको जिल्ला अस्पतालमा पनि कोरोनाको परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।