काठमाडौंमा २१ घण्टा विताएर दिल्ली फर्किए भारतीय गुप्तचर प्रमुख सामन्त गोयल

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ्स (रअ)का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा करिब २१ घण्टा बिताएर बिहीबार बिहान दिल्ली फर्किएका छन् ।

बुधबार दिउँसो पौने १ बजेतिर काठमाडौं उत्रिएका गोयल बिहीबार बिहान १० बजेर ८ मिनेटतिर काठमाडौंबाट दिल्ली उडेका हुन् ।

सेनाको विशेष विमानबाट काठमाडौं आएका गोयलले बुधबार साँझ करिब १ घण्टा ३० मिनेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा भएको कुराकानीको विषय भने सार्वजनिक भएको छैन । गोप्य रुपमा काठमाडौं उत्रिएका गोयलले अन्य राजनीतिक दलका शीर्ष नेतासँग पनि भेटघाट गर्ने कार्यतालिका थियो ।

तर, प्रधानमन्त्री ओली र सुरक्षा संयन्त्रका अधिकारीसँग मात्रै उनले भेटवार्ता गरेका बुझिएको छ । एक सुरक्षा अधिकारीले गोयलले बुधबार राति सवा १० बजेदेखि पौने १२ बजेसम्म प्रधानमन्त्री ओलीसँग छलफल गरेका जानकारी दिए ।

राति १० बजेर १५ मिनेटतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेको गोयल नेतृत्वको टोली राति ११ बजेर ४५ मिनेटतिर त्यहाँबाट फर्किएको थियो ।

भारतीय दूतावास स्रोतका अनुसार गोयलले प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । गोयललाई भेट्न देउवा बत्तीसपुतलीस्थित होटेल द्वारिकाज पुगेका थिए ।

गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको चर्चा पनि छ । तर, प्रचण्डको सचिवालयले भने गोयलसँग भेटवार्ता नभएको बताएको छ ।

गोयल परराष्ट्र मन्त्रालयसँगको समन्वयमा नै काठमाडौं उत्रिएको नेपालस्थित भारतीय दूतावास स्रोतको भनाइ छ । तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भने गोयलको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिन मानेनन् ।

गोयलको भ्रमणलाई पछिल्लो समय केही बिग्रिएको भनिएको नेपाल–भारत सम्बन्धलाई थप समधुर बनाउने अनौपचारिक प्रयासको रुपमा पनि चर्चा गरिएको छ ।

नेपालले भारतद्वारा मिचिएका कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा केही ‘दरार’ आएको छ । दुई देशको सम्बन्धमा देखिएको त्यहि ‘दरार’ मेट्न प्रधानमन्त्री ओलीकै चाहनाअनुसार गोयल गोप्य रुपमा काठमाडौं आएका भारतीय दूतावास स्रोतको भनाइ छ ।

यस्तै, कात्तिक १८ गते भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । भारतीय सेना प्रमुख नरवाणले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेसहित केही औपचारिक र अनौपचारिक भेटवार्ताका कार्यक्रम तय भएका जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button