गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबा बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

फूलपातीको डोली बा२झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि सोही साँझ हर्ष बढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहँदै आएको छ ।

कार्यालयका नायब सुब्बा चूडानिधि तिवारी हुनमानढोका दरबारमा फूलपाती लिएर गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । ‘गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गर्थ्यो,’ उनले भने, ‘यसपटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फूलपाती पठाएका छौँ ।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैंको सातौँ दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दसैंघरबाट सतीपीपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाइएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button