सरकार सधैँ आमनागरिकको साथमा छ : स्वास्थ्यमन्‍त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्‍त्री भानुभक्त ढकालले सरकार सधैं आमनागरिकको साथमा रहेको बताएका छन् ।

बडादसैँ, तिहार, नेपाल संवत, छठलगायत चाडपर्वका अवसरमा देशवासीलाई शुभकामना दिँदै उनले जनस्वास्थको मापदण्ड पूरा गरी चाड मनाउन आग्रहसमेत गरेका छन् । ‘‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि सदैव प्रतिबद्ध छ । मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्‍चालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ,’’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘‘अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको छ । अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्‍चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य सुरु भइसकेको छ । अस्पतालको गेटभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनुनपरोस् भनेर गरिब, विपन्‍न र वेबरिस मानिसको आकस्मिक उपचार नि:शुल्क गर्नेगरी व्यवस्था मिलाएका छौँ ।’’

उनले सरकार सधैँ आमनागरिकको साथमै रहेको दाबीसमेत गरेका छन् । उनको शुभकामना सन्देशमा भनिएको छ, ‘‘यो महामारीविरुद्धको लडाइँमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी छ । सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौँ ।’’

मन्त्री ढकालले विज्ञप्तिमार्फत स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपारी चाड मनाउन आग्रहसमेत गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button