सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि सारियो

कार्तिक १५ गतेका लागि तय भएको बैठक मंसिर १५ गतेसम्मका लागि सरेको सर्कुलर केन्द्रीय सदस्यहरूलाई गरिएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले केन्द्रीय सदस्यहरूलाई बैठक सरेको बारे जानकारी पठाएका हुन् ।

केन्द्रीय सदस्यहरूलाई पठाइएको जानकारीमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको २०७७ कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड- १९ महामारीका कारण स्थगित गरिएको छ । उक्त बैठक आगामी मंसिर १५- १७ मा आयोजना हुने जानकारी गराइन्छ ।’

महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेदेखि बस्ने भनिएको बैठक कोरोना भाइरसको संक्रमण र अन्य तयारी पूरा नभएकाले सरेको हो ।

केन्द्रीय कमिटी बैठकबारे प्रवक्ता श्रेष्ठले बैठक सर्नेबारे बुधबार बिहानदेखि छलफल भएको बताएका थिए । उनले बैठकको अर्को मिति कहिले तय गर्ने भन्नेबारेमा छलफल भइरहेको बताएका थिए । सचिवालय सदस्यहरूसँगको परामर्शपछि बैठकको नयाँ मिति तय गरिएको हो ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार स्थायी कमिटीको भदौमा सकिएको बैठकले गरेका निर्णय कार्यान्वयन भएका छैनन् ।

स्थायी कमिटी बैठकले सांगठनिक एकता र महाधिवेशनको तयारीसम्बन्धि गर्ने कामको सूची र समय तालिका तयार पारेको थियो । त्यस्तै कार्यकर्ताको लगत तयार पार्ने पनि स्थायी कमिटी निर्णयमा भनिएको थियो । तर यी कुनै पनि काम सम्पन्न भइनसकेको बताइएको छ ।

केन्द्रीय कमिटी बैठक लगायतका विषयमा पछिल्लो समय अध्यक्षद्वय ओली र दाहालबीच कुनै पनि छलफल नभएको नेताहरूले बताएका छन् ।

प्रवक्ता श्रेष्ठले केन्द्रीय कमिटीको छलफल चलाउने वा सार्ने भन्नेबारे यसबीचमा अध्यक्षद्वयबीच औपचारिक छलफल नभएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button