प्रचण्डलाई मनाउन ‘दूत परिचालन’, अविश्वासको प्रस्तावको त्रासमा माधव नेपालसँग सम्बन्ध सुधार्दै ओली !

काठमाडौं । भदौं २६ को स्थायी कमिटी बैठकको निर्णयपछि केही मत्थर देखिएको सत्तारुढ दल नेकपा भित्रको विवाद पुनः चुलिएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सम्पूर्ण काम नसकिँदै नेकपा चर्को उल्झनमा फसेको छ ।

भदौं २६ गतेको बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सरकार र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी रुपमा पार्टी सञ्चालन गर्ने, सरकारले गर्ने महत्वपूर्ण निर्णय र नियुक्तीबारे सचिवालयमा छलफल गर्ने लगायतका १५ बुँदे प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्तावका आधारमा दुवै अध्यक्ष चल्नुपर्ने भएपनि दुवैतिरबाट त्यसको उल्लंघन भइरहेको छ ।

पछिल्लो पटक अध्यक्ष ओलीले पार्टीमा सल्लाह नगरि मन्त्रिपरिषद् विस्तार र राजदूतहरु नियुक्त गरेपछि देखिएको विवाद कर्णाली प्रदेशमा प्रचण्ड निकटका मुख्यमन्त्री महेन्द्र शाही विरुद्ध पूर्व एमाले पक्षधर सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि थप चुलिएको हो ।

अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुबाट नेता माधव कुमार नेपाल समूहका सांसद ब्याक भएपछि ओली पक्ष अल्पमतमा परेको थियो । त्यसपछि विकसित घटनामा पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले फरक फरक निर्देशन नेकपाको कर्णाली प्रदेशलाई जारी गरेपछि पार्टी फुटको सानिध्यमा पुगेको कतिपयको अनुमान रहेको छ ।

केही समय यता दैनिक छलफलमा जुटेका दुई अध्यक्षबीच कर्णाली प्रकरणपछि सौहार्द रुपमा कुराकानीसमेत हुन सकेको छैन ।

कात्तिक ४ गते केहीबेर कुरा गरेका ओली प्रचण्डबीच त्यसयता कुरा हुन सकेको छैन । ओलीले बालुवाटार बोलाइरहेको भएपनि प्रचण्ड बालुवाटार नगएको स्रोतको दाबी छ ।

माधव नेपालसँग नजिक हुन खोज्दै ओली

प्रचण्डसँगको सम्बन्धमा खटपट भएसँगै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमारको साथ खोजेका छन् । यसबीचमा ओली र नेता नेपालबीच केही पटक बालुवाटारमा छलफल भएको स्रोतको दाबी छ । तर छलफलमा ठोस निर्णय भने हुन सकेको छैन ।

नेपालसँग एक्लाएक्लै कुराकानी हुनथालेपछि सत्तारुढ दल नेकपाभित्र नयाँ समीकरण बन्न लागेको हो की भन्ने अड्कलबाजी सुरु भएको छ ।

तर नेपालनिकट नेताहरुले भने प्रधानमन्त्री ओलीसँग अहिलेसम्म भएका छलफलबाट आफूहरुको धारणामा कुनै परिवर्तन नआएको बताए । उनीहरुले प्रधानमन्त्री ओलीबाट नेतृत्व हस्तान्तरणको विषय नआउन्जेल नयाँ समीकरण बन्ने संभावना नरहेको बताए ।

असहज पर्दा एउटालाई च्याप्ने र अर्कोलाई पाखा लगाउने व्यवहार प्रधानमन्त्री ओलीले देखाउँदै आएको भन्दै नेपाल पक्ष पर्ख र हेरको अवस्थामा रहेको उनी निकट एक नेताले बताए ।

तर प्रधानमन्त्रीसँग मिलेर प्रचण्डलाई छोड्ने पक्षमा नेता नेपाल नरहेको ति नेताको भनाई छ ।

प्रचण्डसँग सहकार्यका लागि समझदारी गरिसकेको अवस्थमा उनलाई पाखा लगाउने पक्षमा नेता नेपाल नरहेपछि प्रधानमन्त्री ओलीको योजना सफल हुने सम्भावन तत्काल देखिएको छैन ।

प्रचण्डलाई मनाउन ‘दूत परिचालन’

प्रचण्डसँगको सम्बन्ध बिग्रिपछि प्रधानमन्त्री ओलीले आफू निकटका दुई मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् ।
उनीहरुलाई ओलीले दूतको रुपमा खुमलटार पठाएको भएपनि कुनै सहमति बन्नभने सकेको छैन ।

ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई काठमाडौँ झिकाई वार्ताका लागि परिचालन गरेका हुन् ।

ओली आफैले फोनमार्फत छलफलका लागि बालुवाटार आउन पटकपटक गरेको आग्रह अस्वीकार गरेका प्रचण्डलाई मनाउन उनले आफ्ना विश्वास पात्रहरुलाई काठमाडौँ बोलाएका हुन् ।

स्रोतका अनुसार बिहीबार नेता पोखरेल ओलीको विशेष दूतकारुपमा प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डलाई मनाउने प्रयास गरेका थिए । त्यसक्रममा पोखरेलले पार्टीको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नै गरेर अघि बढ्न ओली तयार रहेको प्रचण्डलाई बताएका थिए ।

तर प्रचण्डले भने पार्टीका निर्णय एकपछि अर्को गर्दै ओलीले उल्लंंघन गर्दा आफू र आफनो सिंगो पार्टीलाई अपमान महशुस भएको पोखरेलसमक्ष राखेका थिए ।

पोखरेलले तिहारलगत्तै व्यापक रूपमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी दुई अध्यक्षले फेरि संवाद थाल्नुपर्ने बताएका थिए तर पोखरेलको प्रस्तावमा प्रचण्ड सकारात्मक नदेखिएको उनीनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

त्यसअघि प्रचण्डलाई मनाउन बुधबार महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए । उनीहरूसँग पनि प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर गुनासो गरेका थिए ।

अविश्वासको प्रस्तावको चर्चा

ओली विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको चर्चा यतिवेला नेकपा वृत्तमा चलिरहेको छ ।

ओली निकट उच्च तहका नेताहरुले नै उक्त समूहले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कसरत गरिरहेको गरेका स्रोतको दाबी छ ।

सकेसम्म पार्टी भित्रैबाट नभएर प्रमुख प्रतिपक्षी कांग्रेससँग मिलेर भएपनि अविश्वासको प्रस्ताव ल्याउनmे बारे प्रचण्ड नेपालसमूहमा छलफल भएको ओली पक्षको आशंका छ ।

पार्टी निर्णयविपरीत काम गरेको र सरकारसमेत बदनाम गराउन लागेको भन्दै ओलीविरुद्धको अविश्वासको प्रस्तावमा गोप्यरुपमा हस्ताक्षर गर्ने काम भइरहेको ओली निकट एक नेताले बताए ।

बिहीबार ओलीनिकट नेताहरूको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको थियो ।

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल उपस्थित थिए । प्रधानमन्त्री कार्यालयमै भएको भेटमा भर्खरै उक्त कार्यालय हेर्नेगरी जिम्मा पाएका ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी थिए ।

भेटमा अविश्वासको प्रस्ताव ल्याउने तयारीबारेको पनि चर्चा चलेको एक नेताले जानकारी दिए । “प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन् भन्ने सूचना पाएको छु,” एक नेताले भने ।

तर, प्रचण्ड नेपाल पक्षधर नेताहरुले भने अविश्वासको प्रस्ताव बारेको अफवाह ओली पक्षका नेताहरुले नै चलाएको आरोप लगाएका छन् ।

‘यस बारेमा छलफल भएको छैन, उहाँहरु समस्यालाई डाइभर्ट गर्नका लागि योजनावद्ध रुपमा लागिरहनु भएको छ,’ प्रचण्ड नेपाल समूहका एक नेताले भने ।

नेतृ रामकुमारी झाँक्रीले पनि यसलाई आधारहिन हल्लाको संज्ञा दिएकी छिन् ।

उनले भनेकी छिन्, अयोग्यता छोप्न यस्तै आधारहिन हल्ला गरेरै भएपनि केही समय टिक्न सकिन्छ भनेर फेरि थालिएछ अर्को हल्ला । अनि आफ्नो जिम्मेवारी छोडेर मोर्चा कस्न राजधानी छिरेछन् क्षेत्रपालहरु !’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button