‘हत्या’को ८ दिनपछि नेकपा पर्साका नेता चौरसियाको अन्त्येष्टि

वीरगन्ज । मृत्यु (हत्या)को ८ दिनपछि नेपाल काम्युनिस्ट पार्टी (नेकपा)पर्सा जिल्ला कमिटी सदस्य एवम् विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज (शुक्रबार) अन्त्येष्टि गरिएको छ ।

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो ।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

नेकपाको विन्धवासनी गाउँपालिका कमिटीका अध्यक्ष र सचिव पदको शपथग्रहण कार्यक्रम चलिरहँदा कात्तिक ६ गते दुई पक्षबीच झडप भएको थियो ।

ओली पक्षका भनिएका नेकपा कार्यकर्ताले प्रचण्ड–नेपाल पक्षको भनिएको कार्यक्रममा आक्रमण गरेका थिए ।

आक्रमणमा करिब ८ जना घाइते भएका जनाइएको छ । घाइतेमध्ये पूर्व माओवादी नेता चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

चौरसियाको परिवारले तत्कालीन नेकपा एमालेबाट प्रथम संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्ब्र ३ बाट निर्वाचित भएका राजकुमार गुप्ता हत्यामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिँदा जिल्ला प्रहरी कार्यालय पर्साले उजुरी दर्ता गर्न मानेको थिएन ।

चौरसियाको मृत्यु (हत्या) भएको ७ दिन पछि मात्रै जिल्ला सरकारी वकिलको ‘आदेश’मा जिल्ला प्रहरी कार्यालय पर्साले १३ जनाविरुद्ध उजुरी दर्ता गरेको थियो ।

बिहीबार दर्ता गरिएको उजुरीमा चौरसियाको हत्यामा संलग्न रहेको भन्दै आरोपी बनाइएका १३ जनामा ओली पक्षका नेता भनिएका तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्ताको नाम पनि छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले चौरसिया मृत्यु प्रकरणमा अनुसन्धान शुरु भइसकेको जानकारी दिएका छन् । चौरसिया मृत्यु प्रकरणमा दोषी भएका व्यक्तिलाई कानूनी दायरमा ल्याइने डीआईजी सिंहको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button