प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । १२ दिनपछि नेकपाका दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ।कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र प्रचण्डबीच शनिबार मात्रै भेट भएको हो।
मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रकरण, पर्सा घटना लगायतमा ओली प्रचण्डबीच तनाव उत्पन्न भएको थियो । संवाद रोकिएपछि प्रधानन्त्री ओली निकटका नेताहरु खुमलटार पुगेर प्रचण्डलाई बालुवाटार जान मनाएका थिए ।
बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ अलग(अलग समयमा खुमलटार पुगेका थिए।
बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए। खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए।
मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भए पनि शुक्रबारसम्म प्रचण्ड बालुवाटार नगएको प्रचण्डनिकट स्रोतको दाबी छ। यसअघि प्रचण्डलाई भेट्न नेता माधव कुमार नेपाल खुमलटार पुगेका थिए ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले शनिबार दिउँसो छलफल भैरहेको छ।
प्रचण्डलाई भेट्न नेता नेपाल साढे ११ बजे खुमलटारस्थित उनकै निवास पुगेका थिए । स्रोतका अनुसार पार्टी भित्रको गतिरोध अन्त्य गर्ने उपायको खोजिकै विषयमा प्रचण्ड नेपालको छलफल भएको हो।