‘पार्टी एकताको रक्षाका निम्ति आ-आफ्नो ठाउँबाट पहल गरौ’ नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी फुट कदापि उचित र सही हुन नसक्ने बताएका छन् ।
पछिल्लो समय आन्तरिक विवाद चुलिएर नेकपा फुटकै संघारमा पुगेको चर्चा चलिरहेका बेला नेता श्रेष्ठले पार्टी एकताको रक्षाका निम्ति आ–आफ्नो ठाउँबाट पहल गर्न पनि आग्रह गरेका छन् ।
आइतबार अपराह्न सामाजिक सञ्जालमा एक सन्देश लेख्दै श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहन, पसिना लगाएर हासिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एव. कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुन्छ ।’
नेता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा खुला छलफल गर्न पनि प्रस्ताव गरेका छन् ।
‘पार्टी भित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवम् सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएको स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाका निम्त सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवम् निर्णयको पालना र कार्यान्वयन,’ श्रेष्ठले भनेका छन्, ‘अहंकार, आवेश र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन ।’