प्रधानमन्त्री ओलीले भने– पार्टी फुट्ने कुनै संकेत छैन

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो पार्टी फुट्ने कुनै संकेत नभएको बताएका छन् ।

आइतबार अपराह्न ललितपुरको गोदावरीमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुगेका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने कुनै संकेत नभएको बताएका हुन् ।

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र आफूबीच कुनै संवादहीनता नभएको पनि दाबी गरेका छन् । सँगै बसेका साथीको कोभिड रिपोर्ट पोजेटिभ आएपछि प्रचण्ड केही दिन भेटघाटका लागि नआएको उल्लेख गर्दै ओलीले शनिबार आफूहरुबीच भेटवार्ता भएको बताए ।

शनिबारको भेटवार्ताका क्रममा पार्टीको कर्णाली प्रदेश कमिटीमा देखिएको विवादका सन्दर्भमा छलफल भएको ओलीले दाबी गरे । शनिबारको भेटका क्रममा प्रचण्डलाई आफूले पार्टीमा एकखालको छलफल भइराखेको उल्लेख गर्दै के गर्न खोजिएको हो भनेर प्रश्न सोधेको ओलीले उल्लेख गरे ।

‘उहाँहरुको लगातार एकखाले मिटिङहरु भइराख्या हुनाले मैले यो के गर्न खोजिराख्या हो, के भइराख्या हो भनेर सोधेको थिएँ उहाँलाई,’ ओलीले भने, ‘उहाँ (प्रचण्ड)ले छलफल त भइराखेको हो, त्यस्तो केही हैन भन्नुभयो । भेटमा कर्णालीको विषय र आदिइत्यादिमा छलफल भयो ।’

प्रधानमन्त्री ओलीले आफू र प्रचण्डबीचको भेटवार्ताका क्रममा पार्टीलाई एकीकृत ढंगले अगाडि बढाउने कुरा भएको पनि दाबी गरे । यता, प्रचण्डले भने ‘ओलीबाट एकै पार्टीमा बस्न सकिने अवस्था नरहेको भन्दै अलग अलग भएर जाने प्रस्ताव आएको भनेर’ आफू निकट नेताहरुलाई ब्रिफिङ गरेको कुरा बाहिर आएको छ ।

आइतबार वरिष्ठ नेता झलना खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यद्व नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल)सँग प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा छलफल गरेका थिए ।

छलफलका क्रममा प्रचण्डले ओलीबाट सँगै जान नसकिने भन्दै अलग अलग जाने प्रस्ताव आएको ब्रिफिङ गरेका विषय बाहिर आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button