१७ हजार ६ सय रुपैयाँ घुससहित सशस्त्र प्रहरीका जवान पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का जवान १७ हजार ६ सय रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहान १७ हजार ६ सय रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगेको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले जवान चौहानलाई १७ हजार ६ सय रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं (टंगाल)का अनुसार सशस्त्र प्रहरी जवान चौहानले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस रकम मागेका थिए ।
पक्राउ परेका चौहानमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।