सभामुख सापकोटा र दक्षिण कोरियाका राजदूतबीच शिष्टाचार भेट

१७ कार्तिक, काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नुभएका नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क चोङ–सुक (Park Chong-suk) बीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले राजदूत पार्कलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

उहाँले नेपाल र दक्षिण कोरियाबीच ५६ बर्ष लामो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दक्षिण कोरियाले हालै मनाएको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका राष्ट्रपति, सभामुख र कोरियाली जनतालाई बधाई ज्ञापन गर्नुभयो ।

सभामुख सापकोटाले हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्धको लडार्इंमा दक्षिण कोरियाले प्राप्त गरेको सफलतामा खुशी व्यक्त गर्दै महामारीकाबीच नेशनल एसेम्लीको चुनाव सम्पन्न गरी विश्वलाई उदाहरण पेश गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले छोटो समयमै दक्षिण कोरियाले गरेको चामत्कारिक प्रगतिबाट आफू निकै प्रभावित रहेको चर्चा गर्दै त्यहाँको विकास मोडलबाट नेपालले पनि सिक्न चाहेको बताउनुभयो ।

सभामुख सापकोटाले दक्षिण कोरियाले कोइकामार्फतु नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि नेपाल कोरिया सम्बन्ध थप सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका युवाको सिप विकासमा दक्षिण कोरियाले गरेको सहयोग सह्रानीय रहेको बताउँदै सभामुख सापकोटाले यस्ता सहयोगले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट र प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत पार्कले दक्षिण कोरियामा छोटो अवधिमा गरिएको विकासका आधारहरु अरु मुलुकहरुमा पनि बाँड्न चाहेको बताउँदै नेपालको विकासमा गर्न सकिने सहयोगका विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले नेपालको प्रदेश नं २ मा सीप हस्तान्तरणका लागि काम गरिरहेको जानकारी दिंदै जलवायु परिवर्तनको क्षेत्रमा संगै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

राजदूत पार्कले दक्षिण कोरियाले नेपालमा कोरियन भाषाको पठनपाठनमा समेत सहयोग गर्न लागेको जानकारी गराउँदै यसबारे छिट्टै विस्तृत जानकारी गराउने बताउनुभयो ।

राजदूत पार्कले असोज ११ मा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button