राष्ट्र बैंकको स्वायत्तता कायम राख्ने छु : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको स्वायत्तता एवं निष्ठालाई कायम राख्ने प्रतिबद्धता जनाएका छन् । आज पदभार गर्दै उनले केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले बैंकको छवि, स्वायत्तता एवम् निष्ठालाई कायम राख्ने बताए ।
उनले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्रसमेत प्रभावित भएको उल्लेख गर्दै मुलुकको वित्तीय प्रणालीलाई सकारात्मक दिशातर्फ लैजान आफू प्रयत्नशील रहने बताए ।
कोरोना भाइरसको संक्रमणका कारण व्यावसायिक वातावरण प्रभावित भएको अवस्थामा त्यसलाई समुचित सम्बोधन गर्नका निम्ति नेपाल राष्ट्र बैंक तयार रहेको उनले बताए । “कोरोना भाइरसको संक्रमणले परिस्थितिलाई कहाँसम्म पुर्याउँछ भन्ने कुराको कुनै निश्चितता छैन” उनले भने, “आउने चुनौतीलाई सम्बोधन गर्नको निम्ति नेपाल राष्ट्र बैंकले आवश्यक पहल गर्ने छ ।”
केन्द्रिय बैंकसँग अनुभवी र सक्षम जनशक्ति रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले बैंकका लक्ष्य र उद्देश्य प्राप्तिको निम्ति एकजुट भएर अघि बढ्न कर्मचारीहरुलाई आग्रह समेत गरे ।
दुई डेपुटी गभर्नरले भने अधिकारी सक्षम व्यक्ति
नयाँ गभर्नर अधिकारीलाई स्वागत गर्दै डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठले सरकारले सक्षम व्यक्तिलाई गभर्नर बनाएका बताए ।
डेपुटी गभर्नर शिवाकोटीले बैंकिङ प्रणालीलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम व्यक्तिलाई बैंकले गभर्नरको रुपमा पाएको बताए । अर्का डेपुटी गभर्नर श्रेष्ठले सक्षम, इमान्दार र वित्तीय प्रणालीलाई बुझेको व्यक्तिलाई सरकारले गभर्नर नियुक्त गरेको बताए ।