एक करोड रुपैयाँ हुन्डीको रकम सहित तीन जना पक्राउ

काठमाडौं । हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन् ।
झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले १ करोड रूपैयाँसहित पक्राउ गरेको हो ।
ब्यूरोका निर्देशक डीआइजी सहकुल थापाका अनुसार उनीहरूलाई हिंजो काठमाडौं ओमबहालबाट नियन्त्रणमा लिएको हो । विशेष सुचनाको आधारमा नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको थापाले बताएका छन् ।
पक्राउ परेका कमल र विकास भने दाजुभाइ रहेको र उनीहरुको ओमबहालमा मोबाइल पसल भएको खुलेको छ भने अर्का पौडेलले भने हुन्डीको रकम कलेक्सन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरुले उक्त रकम हुन्डी मार्फत चीन पठाउन लागेका बताइएको छ ।