बहुमूल्य नागमणिको प्रलोभन देखाइ २ करोड रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ

नेपालगञ्ज । आफूहरुसँग बहुमूल्य नागमणि छ भन्दै झन्डै २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहरा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रोका, शाह र बोहराले आफूसँग बहुमूल्य नागमणि छ भन्दै दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ का माधवप्रसाद घिमिरेको १ करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

बाँके प्रहरीको टोलीले तीनै जनालाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ बाट ४० लाख रुपियाँसहित नियन्त्रणमा लिएको हो ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।

यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button