आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ धकेल्नु: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रष्ट पारेका छन्। बुधबार त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतर्फ धकेल्नु भएको बताए।

पार्टीभित्रैबाट दबाब बढिरहेको भनिएका बेला प्रधानमन्त्री ओलीको पछिल्लो धारणा सार्वजनिक भएको हो। उनले भने ‘तपाईँहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन देशको लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।’

जनताको व्यापक समर्थन र आवश्यकताले आफू आएकोले राजीनामा नदिने बताउदै उनले भने ‘के अहिले मैले राजीनामा दिन मिल्छ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने छैन।’

कुनै पनि जाल, झेल तथा तिकडमबाट नभइ व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गरे।

उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन, नागरिकको आवश्यकता र समर्थनले हो । म जाल, झेल र तिकडमबाट यहाँ पुगेको होइन। यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो। त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि, बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिस गरे । भित्र, बाहिर अनेक थरीका कोसिसहरु आए। जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरू छन्, त्यसबाट प्रभावित नहोऔँ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button