भारतीय स्थलसेनाध्यक्ष नरवणेद्वारा वसन्तपुर र पशुपतिक्षेत्रको अवलोकन

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको आज अवलोकन गरेका छन।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि उनी आजै यहाँ आइपुगेका हुन।
भारतीय सेनाध्यक्ष नरवणेका साथ उनकी धर्मपत्नी विना पनि छन। उनले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
भारतीय सेनाध्यक्ष नरवणेले आजै साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरे।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।