२ खर्ब १२ अर्बको पुनर्कर्जा सीमामा १ खर्ब १४ अर्बको आवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकमा एक खर्बभन्दा बढी पुनर्कर्जा माग भएको छ । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जा र बैंक तथा वित्तिय संस्थालाई एकमुष्ट गरी १ खर्ब १४ अर्बको आवेदन परेको नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियम विभाग प्रमुख देवकुमार ढकालले बताए ।

“ग्राहक ऋणअनुसार प्रदान हुने पुनर्कर्जाको लागि करिब ३०० वटा आवेदनबाट ४२ अर्बको आवेदान परेको छ,” ढकालले बाह्रखरीसाग भने, “त्यस्तै एकमुष्ट रुपमा बैंकहरुलाई उपलब्ध गराएर बैंकहरुले प्रदान गर्ने पुनर्कर्जाको लागि ४४ बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्बको आवेदन परेको छ ।”

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नै समावेशी रुपमा पुनर्कर्जा प्रदान गर्ने गरी पुनर्कर्जा कार्यविधि २०७७ जारी गरेको थियो । केन्द्रीय बैंकले यसअघि बैंक तथा वित्तीय संस्थामार्फत आएको पुनर्कर्जाको फाइल राष्ट्र बैंकले नै स्वीकृत गर्नेगरी ग्राह्य ऋणीलाई मात्रै पुनर्कर्जा प्रदान गर्दै आएको थियो । तर चालु आर्थिक वर्षमा नै कार्यन्वयनमा आएको पुनर्कर्जा कायविधि २०७७ ले भने कुल पुनर्कर्जाको ७० प्रतिशत एकमुष्ट बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने २० प्रतिशत ग्राहक ऋणी अनुसार प्रदान हुने र १० प्रतिशत लघुवित्त वित्तीय संस्थामार्फत प्रदान गर्ने व्यवस्था गरेको थियो ।

कार्यविधिमा रहेको एकमुष्ट पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था अनुसार केन्द्रीय बैंकले गत भदौ दोस्रो साता बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट पुनर्कर्जाको लागि आवेदन माग गरेको थियो । उक्त आवेदनको समय असोज मसान्तमा नै सकिएको छ । उक्त प्रक्रियाबाट ४४ बैंक तथा वित्तीय संस्थामार्फत ७२ अर्ब पुनर्कर्जा माग भएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुनेप्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड रहेको छ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशत हुने कार्यविधिमा उल्लेख छ । यस्तै ग्राहक अनुसार प्रदान हुने पुनर्कर्जाको सिमा भने प्रतिग्राहक २० करोड सम्म रहेको छ ।

सोही कार्यविधिमा भएको व्यवस्था अनुसार अहिले केन्द्रिय बैंकसँग २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जाको लागि स्रोत उपलब्ध रहेको छ । जसको ७० प्रतिशत अथात् १ अर्ब ४८ अर्ब ७५ करोड एकमुष्ट रुपमा बैंक तथा वित्तीय संस्थामार्फत उपलब्ध गराउने सकिने हुन्छ । तर ७२ अर्बको मात्रै आवेदन परेको अवस्थामा थप ७६ अर्ब भन्दा बढी एकमुष्ट पुनर्कर्जा आवेदन गर्न सक्ने ठाउँ रहेको छ ।

पुनकर्जा प्रदान गर्न स्रोत अझै बाँकी रहेकोले एकमुष्ट पुनर्कर्जाको लागि पुन आवेदन माग गर्न सकिने राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकाल बताउँछन् ।

कसरी हुन्छ पुनर्कर्जा प्रदान ?

नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा र विशेष पुनर्कर्जा गरेर तीन प्रकारमा वर्गीकरण गरेको छ । एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जाको लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट आवेदन आह्वान गर्छ । राष्ट्र बैंकले आवेदन आवहान गरेपछि बैंकहरुले आफ्ना ग्राहसँग पुनर्कर्जाको लागि आवेदनमा माग गर्छन र राष्ट्र बैंकले तोकेका मापदण्ड पुरा गरेका बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया पूरा गरेका पुनर्कर्जाको आधारमा राष्ट्र बैंकमा एकमुष्ट पुनर्कर्जाको लागि आवेदन पेश गर्छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले एकमुष्ट पुनर्कर्जाको लागि तोकेको मापदण्ड पुरा गरेर आवेन दिएका बैंकहरुलाई पुनर्कर्जा उपलबध गराउँछ भने बैंकहरुले पनि राष्ट्र बैंकले उपलब्ध गराएपछि ग्राहकलाई सोही अनुसार पुनर्कर्जा प्रदान गर्छन् । यसरी प्रदान हुने पुनर्कर्जा प्रतिग्राहक अधिकतम सिमा ५ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको आधारमा नै पुनर्कर्जा प्रदान हुनेछ । ग्राहक अनुसार प्रदान हुने पुनर्कर्जा पनि बैंक तथा वित्तीय संस्थामार्फत नै राष्ट्र बैंकमा फाइल पेश हुन्छ भने त्यस्तो कर्जा पनि बैंकहरुले प्रदान गरेको असल कर्जालाई ज्ञारेनटी मानेर प्रदान हुन्छ ।

कस्ता ऋणीले पाउँछन् पुनर्कर्जा ?

लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाखसम्मका कर्जाहरू,प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाखसम्मका कर्जाहरू पुनर्कर्जाको लागि योग्य हुनेछ । त्यस्तै प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, राष्ट्र बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू पनि पुनर्कर्जाको लागि योग्य हुनेछन् ।

विशेष पुनर्कर्जाको लागि सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू योग्य हुनेछ । त्यस्तै रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु र कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरु योग्य हुनेछ ।

साधारण पुनर्कर्जाको लागि जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्किएका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरूयेग्य हुनेछ ।

यस्तै पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरू, कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरू पनि साधारण पुनर्कर्जाको लागि योग्य हुने ।

कति छ पुनर्कर्जाको ब्याजदर ?

नेपाल राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जामा १ देखि ३ प्रतिशत सम्म ब्याजदर लिन्छ भने बैंकहरुले ३ देखि ५ प्रतिशत ब्याजदरमा ग्राहकलाई प्रदान गर्नुपर्छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमा उपलब्ध गराएर बैंकहरुले ५ प्रतिशत ब्याजरमा लगानी गर्नुपर्ने हुन्छ ।

त्यस्तै विशेष पुनर्कर्जा बैंकहरुले १ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकबाट लिएर ३ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्छ । त्यस्तै साधारण पुनर्कर्जा राष्ट्र बैंकले ३ प्रतिशतमा उपलब्ध गराएर बैंकहरुले ५ प्रतिशतमा प्रदान गर्नुपर्ने हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button