बिमाको दाबी भुक्तानी ७ दिनमा गर्न कम्पनीहरुलाई बिमा समितिको निर्देशन

काठमाडौं । कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र गर्न बिमा कम्पनीहरुलाई बिमा समितिले निर्देशन दिएको छ ।
कोरोना बिमाको दाबी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बिमा कम्पनीहरुलाई दाबी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।
बिमा समिति अध्यक्ष चिरन्जीवी चापागाईंले अर्थ मन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए ।
यसअघि बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको र दोहोरो बिमा भएको पाइएकाले त्यसको प्रमाणीकरण गर्न समय लाग्दा दाबी भुक्तानीमा ढिलाइ भएको पनि अध्यक्ष चापागाईंले बताए । तर अबदेखि प्रमाणीकरणका सबै प्रक्रिया एक साताभित्र पूरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए ।
कुनै पनि बिमितले बिमा दाबी गर्दा पीसीआर परीक्षणमा पोजेटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताए ।
अहिलेसम्म नेपालमा करिब दुई हजार व्यक्तिले २० करोड रुपैयाँबराबरको भुक्तानी पाइसकेका छन् । अहिले पनि बिमा कम्पनीहरुमा करिब १३ हजार जनाको दाबी परेको अध्यक्ष चापागाईंले बताए ।