नेपाली सेनालाई भारतीय सेनाध्यक्ष नरवणेले दिए भेन्टिलेटर र एम्बुलेस सहितका स्वास्थ्य सामग्री

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
नेपाल–भारत सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी १३ औं बैठकमा भएको सहमतिअनुरुप भारतीय स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयका अनुसार नरवणेले २ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरण, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा बुधबार काठमाडौं आइपुगेका नरवणे बिहीबार औपचारिक कार्यक्रममा व्यस्त रहे । बिहीबार उनले नेपाली सेनाको एक टुगडीले सैनिक मुख्यालयमा आयोजित सम्मान गारत (गार्ड अफ अनर) निरीक्षण गरे । यस्तै, सैनिक मञ्च (टुँडीखेल) पुगेर वीर स्मारकमा अद्धान्जलि अर्पण गरे ।
नरवणेले सैनिक मुख्यालय जङ्गी खडमा ओखरको विरुवा पनि रोपे । त्यसपछि नेपाली सेनाका प्रधान सेनापति थापा र भारतीय स्थलसेनाध्यक्ष नरवणेबीच शिष्टाचार भेटवार्ता भएको थियो ।
शिष्टाचार भेटवार्ताका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्वीपक्षीय छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
नेपाली सेनाका तर्फबाट पनि नरवणेलाई नेपालमै बनेका १ लाख थान मेडिकल मास्क र बुद्धको प्रतिमा उपहारस्वरुप प्रदान गरिएको छ ।
नेपाल भ्रमणमा रहेका नरवणेलाई बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।