भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन्।
बिहिबार दिउसो राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन।
नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ। भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका थिए।
नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन्। योसँगै उनी नेपाली सेनाको मानार्थ महारथी बनेका छन्।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई वर्षपहिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए। दुई देशका सेनाबीचको यो परम्पराले आपसी सम्बन्ध थप मजबुद बनाउने विश्वास गरिएको छ।