काठमाडौंबाहिर जान दिने निर्णयबाट सरकार पछि हट्यो

काठमाडौं । भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ ।

सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट बाहिरिनेहरुका लागि जान दिने र काठमाडौं आउन भने नदिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै ;सामाजिक सञ्‍जाललगायत सरोकारवाला निकायसहितले विरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले यस विषयमा बैठकमा केही सदस्यहरुले कुरा उठेको भए पनि आधिकारिक निर्णय भइनसकेको बताए ।

कुनै पनि पनि सरोकारवाला निकायसँग छलफल नगरी हतारमा गरिएको निर्णयका विषयमा कुनै पनि निकायलाई जानकारी नदिएको र आफूहरु तत्काल सहयोग गर्ने अवस्था नरहेको भन्‍ने प्रतिक्रिया पछि सरकार पछि हटेको हो ।

सरकारले यसअघि यातायात व्यवसायी महासंघ र स्वास्थ्य अधिकारीहरुसँग छलफल नै नगरी निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो ।

अलपत्र नागरिक पुर्‍याउन लागिएको छैन, भ्रमपूर्ण प्रचार नगरौं

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले अलपत्र नागरिक पुर्‍याउने कहीँ, कतै निर्णय नभएको दाबी गरेका छन् ।

समितिको हवाला दिँदै सबैतिर समाचार आएपछि पोखरेलले प्रष्ट पारे, “त्यो भ्रमपूर्ण समाचार हो । कहीँ, कतै निर्णय भएको छैन । केहीकेही साथीहरूले कुरा उठाउनुभएको हो । त्यही आधारमा समाचार सम्प्रेषण भएछ । त्यसमा सत्यता छैन ।

यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइलाई आधार बनाएर समाचार सम्प्रेषण गरेका थियौं । ९ विभागीय मन्त्री सम्मिलित संयन्त्रको पोखरेल संयोजक हुन् ।

प्रदीप ज्ञवालीले सरकारले अलपत्र नागरिकलाई आफैंले व्यवस्थापन गरेर निश्चित गन्तव्यसम्म पुर्‍याउने भएको बताएका थिए । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा त्यस्तो छलफल भएको र गृहले तयारी गरिरहेको उनको भनाइ थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रोजगारी बन्द भएर अलपत्र परेका श्रमिक, उपचार गर्न आएका बिरामी, उनीहरूका आफन्तलाई शुक्रबार र शनिबार उपत्यका बाहिर, उनीहरूको गन्तव्यस्थानसम्म पुर्‍याउने तयारी गरेको जानकारी दिएका थिए ।

“उपचार गर्न आएका थिए बिरामी, उनीहरूको आफन्त, जसको रोजगारी गुम्यो, बन्द भयो त्यस्ता श्रमिकहरूलाई निश्चित गन्तव्यसम्म लगेर छाडिदिने गरी निर्णय गरिएको हो,” ज्ञवालीले भनेका थिए ।

सरकारी योजनामा स्र्कटिङ सहित पठाउने ज्ञवालीले जानकारी दिएका थिए ।

सरकारले निश्चित ठाउँसम्म पु-याउने र त्यहाँबाट सम्बन्धित जिल्लाले अर्को जिल्लासम्म गर्दै गन्तव्यमा पुर्‍याउने योजना रहेको उनले बताए । गृहमन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर आवश्यक योजना बनाइरहेको ज्ञवालीको भनाइ थियो ।

सामाजिक, भौतिक दूरी, किटाणुशोधनलगायत आवश्यक सबै प्रक्रिया पूरा गरेर अलपत्रको उद्धार गरिने पनि ज्ञवालीले बताएका थिए ।

ध्यानाकर्षण !

‘भोलि र पर्सि ( २८–२९ चैत्र , २०७६ ) काठमाडौं प्रवेश गर्न नपाइने तर काठमाडौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको’ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक सञ्जालहरूमा आइरहेको सन्दर्भमा ‘नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को गंभीर ध्यानाकर्षण भएको छ । यस किसिमको कुनै निर्णय नभएको, कोभिड(१९ को सङ्क्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्त्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।

–ईश्वर पोखरेल
संयोजक
‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button